एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत २ हजार बढी शैक्षिक सामग्री वितरण गर्ने
काठमाडौं । एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिएका चौकाबापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने सामाजिक पहलअनुसार, यी सामग्री सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने एनसेल फाउन्डेसनले जनाएको छ । गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग पुगेको थियो । एनपीएल सिजन २ का हरेक चौकामा ४ वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ । ‘क्रिकेटको उत्साहलाई शिक्षासँग जोड्ने यो पहल, विद्यार्थीका लागि अर्थपूर्ण शैक्षिक सहयोग प्रदान गर्ने प्रतिबद्धताको एक प्रमाण हो फाउन्डेसनले भनेको छ ।
मंसिर १८ सम्म खेलिएका एनपीएल सिजन २ का खेलहरूमा ९० खेलाडीहरूले कुल ५१० चौका प्रहार गरेका छन्, जसले २,०४० शैक्षिक सामग्रीहरुको वितरण सुनिश्चित गरेका छ । चौका प्रहार गर्ने शीर्ष तीन खेलाडीहरूको सूचीमा पोखरा अवेन्जर्सका एडम रोसिङटन २७ चौकासहित अगाडि छन्, जसले १०८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा रहेर ७६ शैक्षिक सामग्री योगदान गरेका छन् । त्यसैगरी काठमाडौं गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारी तेस्रो स्थानमा छन्, उनीहरुले १७–१७ चौका प्रहार गर्दै प्रत्येकले ६८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन्। यो पहलले शैक्षिक सामग्रीको वितरणमार्फत विद्यार्थीहरूको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने छ । विद्यार्थीहरूलाई प्रदान गरिने प्रत्येक किटमा झोलासहित कपी, पेन्सिल, शार्पनर, इरेजरलगायतका आवश्यक सामग्रीहरू समावेश हुनेछन् । यी सामग्रीहरूले विद्यार्थीहरूलाई पठन–पाठनका लागि आवश्यक स्रोतहरूको कमी घटाउन मद्दत गर्ने र उनीहरूको सिकाइमा योगदान पुर्याउनेछ । गत वर्ष, एनपीएलको पहिलो सिजनमा प्रहार भएका ६५३ चौकाबाट फाउन्डेसनले २,६१२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धताअनुसार सोसहित ९ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो ।
















