एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन भएको व्यवस्थापन समिति सचिवालयको बैठक एमाले मुख्यालय च्यासलमा बसेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफलसहित समीक्षा गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सबै उपसमितिहरूले गरिरहेका काम र रिपोर्ट पेस गरिएको बैठकमा महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको निष्कर्ष निकालेको छ ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि सुरु हुँदै छ । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले तयारीहरू तीव्र पारिएको छ । महाधिवेशनका लागि बनेका विभिन्न समिति र उपसमितिहरूले युद्धस्तरमा काम गरिरहेको सो पार्टीले जनाएको छ । समग्र तयारीको अवस्थाबारे छलफल गरी बाँकी काम सम्पन्न गर्न व्यवस्थापन समिति सचिवालय अर्को बैठक मंसिर २५ गते बस्ने ढुङ्गेलले जानकारी दिए । यसअघि महाधिवेशन सम्पन्न गर्न एमालेले विभिन्न १३ वटा उपसमिति गठन गरेको थियो । ‘सम्भवतः ११ औँ राष्ट्रिय व्यवस्थापन समिति सचिवालय सो बैठक अन्तिम बैठक हुने छ।
















