चीनमा गद्दामा सुत्ने अनौठो प्रतियोगिता

चीनमा ओछ्यानको म्याट्रेस अर्थात गद्दा उत्पादन गर्ने एक कम्पनीले आफ्नो उत्पादनको प्रबर्द्धनका लागि एउटा निकै अनौठो प्रतियोगिताको आयोजना गर्‍यो । उक्त प्रतियोगितामा सहभागी हुनेहरुले कुनै कुँदाकुँद वा मुक्कामुक्की गर्नुपर्ने थिएन, मात्र त्यो गद्दामा सुतेमात्रै पुग्दथ्यो। सो प्रतियोगिताको प्रत्यक्ष प्रशारण कम्पनीले विभिन्न सामाजिक सञ्जालमार्फत गरेको थियो जसले लाखौं दर्शकलाई आकर्षित गर्‍यो। साउथ चाइना मोर्निङ पोष्टका अनुसार यहीँ १५ नोभेम्बरको बिहान १० बजेर १८ मिनेटमा चीनको इनर मंगोलियास्थित बाओटाउमा रहेको एक शपिङ सेन्टरमा प्रतियोगिता सुरु भएको थियो। उक्त प्रतिस्पर्धामा २३ वर्षका एक युवकले लगातार ३३ घण्टा ३५ मिनेटसम्म गद्दामा सुतेर बिताउँदै विजेता बन्न सफल भए । यो खेलको शीर्षक चीनमा चर्चित ‘ताङ पिङ’ अर्थात् ‘सुतेर बस्ने’ ट्रेण्डबाट प्रेरित थियो । यो भनेको कामप्रति न्यूनतम प्रयास गर्ने र अत्यधिक सामाजिकरपेशा सम्बन्धी दबाबबाट टाढा बस्ने मानसिकता हो।

उक्त ट्रेण्ड पछिल्ला वर्षहरूमा चिनियाँ युवामाझ लोकप्रिय बन्दै गएको छ । गद्दामा सुत्ते प्रतियोगिताका केही नियमहरु थिए। जसमा प्रतियोगी त्यस अवधिभर गद्दाबाट उठ्न पाइँदैनथ्यो अर्थात् सुतेको ठाउँ छाड्न पाइन्नथ्यो। साथै शोचालय पनि जान पाइँदैनथ्यो । तर, कोल्टे फेर्न, पुस्तक पढ्न, मोबाइल चलाउन, खानेकुरा मगाउन र खान भने पाइन्थ्यो । ट्वाइलेट जान नपाउने हुनाले धेरैले डाइपर प्रयोग गरेका थिए । रोचक त के भने २४० जना सहभागी मध्ये १८६ जनाले त धूमपानको तलतलका कारणले बीचमै प्रतियोगिता छाडेका थिए । ३३ घण्टा नाघुन्जेलसम्म ३ जना मात्रै प्रतियोगी बाँकी थिए। खेल अझै रोचक बनाउन आयोजकले तिनै जनालाई एकै साथ हात र खुट्टा उठाएर राख्न लगाएका थिए। सबैभन्दा धेरै समयसम्म स्थितिलाई कायम राख्न सफल भएका २३ वर्षीय युवक विजेता घोषित भए । आफ्नो जितको श्रेय प्रेमिकालाई दिँदै विजेता युवकले भने मेरो गर्लफ्रेन्डले प्रतियोगिताको लिंक पठाएर सहभागी हुन सुझाइन् । बीचमा हार मानुँ कि भन्ने पनि लाग्यो, तर उनले नै हौसला दिइन् । सो प्रतियोगितामा उत्कृष्ट तीन जनालाई नगद पुरस्कार दिइएको थियो। पहिलो हुनेले ३ हजार युआन, दोश्रोले २ हजार र तेश्रोले १ हजार युआन पुरस्कार पाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *