चिसोसँगै श्वासप्रश्वास समस्या बढ्छ , सावधानी अपनाउन चिकित्सकको सल्लाह
काठमाडौं । चिसो बढेसँगै स्वासप्रश्वाससम्बन्धी समस्यासहित अस्पताल धाउने बिरामीको संख्या बढेको छ । चिसोसँगै रुघाखोकी, फ्लु र निमोनियाको समस्या पनि बढ्ने भएकाले अस्पताल जाने बिरामीको संख्या बढ्ने गरेको चिकित्सकको भनाइ छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि चिसोका कारण हुने स्वासप्रश्वाससम्बन्धी समस्या लिँदै पुग्ने बिरामीको संख्या बढेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ । अब चिसो बढ्दैछ । मौसमी रोगबाट ग्रसित बिरामीको संख्या बढ्न थालेको छ । विशेषगरी रुघाखोकी, फ्लु र निमोनियाका बिरामीको संख्या बढेको छ । केही दिनअघि छिमेकी मुलुक भारतमा फ्लुको समस्या देखिएको हुँदा त्यसको असर नेपालमा पनि पर्ने उनले बताए । उनले भने, “कोभिडजस्तै त हो नि । छिमेकी मुलुकको प्रभाव नेपालमा पर्छ । खुला सीमा छ, फेरि आवत–जावत पनि भइरहन्छ । चिसोमा प्रायः देखिने समस्या रुघाखोकी र फ्लु भएकाले यसबाट बच्न विज्ञले सुझाएका छन् ।
तापक्रम घट्दा भाइरस छिटो फैलिने र प्रतिरक्षा शक्तिमा पनि कमी आउने भएकाले रुघाखोकी र फ्लुको संक्रमण हुने गरेको उनीहरूको भनाइ छ । रुघाखोकी र फ्लुबाट जोगिन तातो पानी पिउने, हात धुने बानी बसाल्ने, भीडभाड कम गर्ने र खोप लगाउन सकिने उनीहरूको सुझाव छ । चिसोमा विशेषगरी वृद्ध–वृद्धा र बालबालिकामा निमोनिया र फोक्सोसम्बन्धी समस्या पनि बढ्ने भएकाले मास्क प्रयोग गर्न र धुलो–धुँवाबाट जोगिन चिकित्सकको सल्लाह छ । लामो समय खोकी रहने र ज्वरो समेत लगातार आइरहेमा नजिकैको स्वास्थ्य संस्थामा पुगी स्वास्थ्यकर्मीको सुझाव लिन पनि सुझाएका छन् । डा. पुनले भने, लामो समय खोकी लागिराख्यो र ज्वरो पनि निको भएन भने यत्तिकै घरमै बस्न हुँदैन । नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाह–सुझावबमोजिम उपचार गर्नुपर्छ । यस्तै चिसोमा रक्तसञ्चार कम हुने भएकाले जोर्नी दुखाइ, छाला सुख्खा हुने, एलर्जी, सास फेर्न गाह्रो हुने र मुटुसम्बन्धी समस्याहरू देखिने चिकित्सकको भनाइ छ । सबै खाले स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त तातो पानी पिउने, सन्तुलित आहार—सुप, झोल, दाल, फलफूल खाने, नियमित व्यायाम गर्ने तथा न्यानो कपडा लगाउन उनीहरूले सुझाएका छन् ।
















