जेनजी आन्दोलनमा हत्या, लुटपाट र आगजनी गर्ने ७ सय ५ जना पक्राउ
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाक्रममा गैर कानुनी गतिविधिमा संलग्न रहेको आरोपमा देशभर सात सय पाँच जना पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार भदौ २३ र २४ को प्रदर्शनकाक्रममा कानुन विपरीतको गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्ने अधिकांश भदौ २४ गतेको तोडफोड, लुटपाट र आगजनीसँगै प्रहरीमा हत्याका आरोपीहरू समेत छन्। भदौ २४ मा काठमाडौंमा तीन प्रहरीको हत्या भएको थियो। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा धेरै काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा २ सय ६१ , ललितपुरमा २७ र भक्तपुरमा २३ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यकामा ३ सय ११ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यकामा पक्राउ परेकाहरूमध्ये १ सय ६९ वटा मुद्दा दर्ता भएका छन्। पक्राउ परेकाहरूमध्ये ८३ जनाको पृष्ठभूमि आपराधिक देखिएको प्रहरी तथ्याङ्कमा उल्लेख छ।
ललितपुरमा मात्रै पनि प्रहरीले १७ वटा र भक्तपुरमा ६ वटा मुद्दा दर्ता भएका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरबाट १ सय ४६ वटा मुद्दाहरू दर्ता भएकामा सबैभन्दा धेरै आपराधिक उपद्रवका छन्। यस कसुरमा ९६ वटा मुद्दा दर्ता भएका छन् भने १ सय ५१ जना पक्राउ परेका छन्। भदौ २४ गते काठमाडौंमा हत्यामा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका छन्। कोशी प्रदेशमा ८५ जना पक्राउ परेका छन् भने २७ वटा मुद्दा दर्ता भएका छन्। मधेस प्रदेशमा ५० जना पक्राउ परेका छन् र २८ वटा मुद्दा दर्ता भएका छन्।बागमती प्रदेशमा ८४ जनाविरुद्ध ४० वटा मुद्दा दर्ता भएका छन्। गण्डकी प्रदेशमा ९६ जनाविरुद्ध ३४ वटा मुद्दा र लुम्बिनी प्रदेशमा ८७ जनाविरुद्ध ३८ वटा मुद्दा दर्ता भएका छन्। कर्णालीमा चार जना पक्राउ र तीन वटा मुद्दा तथा सुदूरपश्चिममा १४ जना पक्राउ र चार वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ।
















