एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रमा को–को नेता पुगे ?
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनको उद्घाटन सत्रमा शनिबार मञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ देखिए । १६ वटा राजनीतिक दलका प्रमुख नेताको उपस्थिति रहने शुक्रबार पत्रकार सम्मेलनमा बताइए पनि शनिबार महाधिवेशनको उद्घाटन सत्रमा धेरैको सहभागिता रहेन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा महाधिवेशनमा सहभागी भएनन् । कांग्रेसले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महाधिवेशनको उद्घाटन सत्रमा पठाएको थियो ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नै टेलिफोनमार्फत शुभकामना दिइसकेका थिए । महाधिवेशनमा सो पार्टीका नेता देव गुरुङ सहभागी भए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी सहभागी भए । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले महासचिव डा. सुरेन्द्र झालाई एमालेको महाधिवेशनको उद्घाटन सत्रमा पठायो । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष वसन्त कुशवाह महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन सल्लाघारी पुगेका थिए । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट पनि महाधिवेशनको उद्घाटन सत्रमा पुगेका थिए । यस्तै नेकपा नेकपा माओवादीका महासचिव नेत्र विकम चन्द विप्लव पनि महाधिवेशनमा पुगेका थिए । जनता समाजवादी पार्टी नेपालको तर्फबाट उप–महासचिव प्रकास अधिकारी महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका थिए । भक्तपुरको सल्लाघारीस्थित चौरमा ११औँ महाधिवेशनको उद्घाटन सत्र गरेको एमालेले काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र गर्ने भएको छ । महाधिवेशन २९ गतेसम्म चल्नेछ ।
















