रिलायन्स फाइनान्स र सुनौलो परिवार नेपालबीच यौन तथा प्रजनन स्वास्थ्य सेवामा सहकार्य

काठमाण्डौं । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच आपसी सहकार्य भएको छ। यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा बिहीबार हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार रिलायन्स फाइनान्स लिमिटेडसँग आबद्ध कर्मचारी, सेवाग्राही तथा आन्तरिक र बाह्य सरोकारवालाले सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टरबाट प्रदान गरिने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवाहरूमा १० प्रतिशत छुट पाउनेछन्। मेरी स्टोप्स सेन्टर हाल देशका १८ जिल्लामा सञ्चालनमा रहेका छन्। ती जिल्लामा सञ्चालित २२ वटा मेरी स्टोप्स सेन्टरले सुरक्षित गर्भपतन सेवा, परिवार योजना, तथा महिलाको महिनावारी सुरु भएदेखि बन्द नहुन्जेलसम्मका सम्पूर्ण प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र गुणस्तरीय सेवा प्रदान गर्दै आएका छन्।

यी सेवा कोशी प्रदेशका बिर्तामोड, विराटनगर र इटहरी, मधेस प्रदेशका वीरगञ्ज, लहान र लालबन्दी, बागमती प्रदेशका चुच्चेपाटी, गोङ्गबु, पुतलीसडक, सातदोबाटो र नारायणगढ, लुम्बिनी प्रदेशका बर्दघाट, भैरहवा, बुटवल, चन्द्रौटा, दाङ, कोहलपुर र तौलिहवा, गण्डकी प्रदेशका डुम्रे र पोखरा, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको अत्तरियामा उपलब्ध छन्। सम्झौता हस्ताक्षर समारोहमा सुनौलो परिवार नेपालका प्रोग्राम तथा पार्टनरशिप म्यानेजर सृष्टि मैनाली र मार्केटिङ तथा कम्युनिकेसन म्यानेजर हिमा मिश्रको उपस्थिति थियो। रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत रविन शाक्य तथा अन्य कर्मचारी सहभागी थिए। दुवै संस्थाबीच भएको यो सहकार्यले वित्तीय सेवासँगै समुदायमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना बढाउन र सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसबाट सेवाग्राहीलाई सहज, सुरक्षित र किफायती रूपमा स्वास्थ्य सेवा प्राप्त हुने विश्वास लिइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *