मुक्तिनाथ क्यापिटलको लगानी व्यवस्थापनमा नयाँ योजना सार्वजनिक
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले लगानी व्यवस्थापनअन्तर्गत नयाँ योजना ‘मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो’ सार्वजनिक गरेको छ। उक्त योजनामा न्यूनतम १० लाख रुपैयाँबाट लगानी सुरु गर्न सकिने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत लगानीकर्ताले लगानी गरेको रकमको आधारमा दुर्घटना बीमा, औषधोपचार बीमा तथा गम्भीर प्रकृतिका रोगसम्बन्धी बीमाको सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
भविष्यमा हुन सक्ने आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या जस्ता अनिश्चित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक क्षतिलाई न्यूनिकरण गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको छ । आजको लगानी, भोलिको सुरक्षा भन्ने नारासहित मुक्तिनाथ क्यापिटलले लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । कम्पनीका अनुसार यो योजनाले एकातर्फ लगानीबाट लाभ आर्जन गर्ने अवसर प्रदान गर्नेछ भने अर्कोतर्फ भविष्यमा हुन सक्ने स्वास्थ्यसम्बन्धी जोखिमबाट हुने आर्थिक क्षतिबाट समेत सुरक्षा प्रदान गर्नेछ ।















