आज गुरूपूर्णिमा :  महिमा र महत्व

काठमाडौँ । पूर्णिमा हिन्दु धर्मावलम्बीहरूको एक पर्व हो । हिन्दुहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेद व्यासको जन्म जयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्। उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूल माला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ । द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसैदिन ऋषि पराशर र माझी पुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेद वेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ । संस्कृत भाषामा ’गु’को अर्थ अन्धकार र ’रू’को अर्थ नष्ट गर्ने हो। आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ । हिन्दु मान्यताअनुसार सङ्गीतलगायत ६४ कला सिकाउने, गायत्री–दीक्षामन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजु बुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन्। विद्योपार्जन लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो। त्रेता युगमा मर्यादा पुरुषोत्तम रामसहित उनका भाइ र द्वापरमा भगवान् श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेका शास्त्रमा उल्लेख छ । पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए। गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन रहिआएको छ। गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले त्यसै दिनलाई धर्म चक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका छन् । अध्यापन गर्ने गुरुलाई शिक्षक, टिचर, लेक्चर, प्रोफेसरको रूपमा सम्बोधन गरिन्छ। सोक्रेटस, प्लेटो, अरस्तु सबै योग्य शिक्षक थिए। फाबेलले शिक्षार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैँचाका रूपमा उपमा दिएका छन्। रूसो एक प्रकृतिवादी शिक्षा शास्त्री थिए। उनले बालक स्वतन्त्र जन्मिन्छ, उसलाई स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ भने। शिक्षकले पथप्रदर्शकको रूपमा कार्य गर्नुपर्छ । विकसित र धनी राष्ट्र कहलिएका अमेरिका र अस्ट्रेलियाले मन माफिक धन खर्च गरेर पनि मन माफिक शैक्षिक सुधार गर्न सकेनन्। यो कुरा प्रसिद्ध बेलायती साप्ताहिक ’दी इकोनोमिस्टमा’ अक्टोबर १८, २००७मा शिक्षासम्बन्धी एउटा विचारोत्तेजक लेखमा प्रकाशित भएको थियो। यसैको आधारमा एउटा अर्को अध्ययन आर्थिक सहयोग र विकास सङ्गठनले विकास गरेको मापन प्रणालीअनुसार क्यानडा, फिनल्यान्ड, जापान, कोरिया र सिङ्गापुरले श्रेष्ठता हासिल गरेको पाइयो। उक्त परामर्शदाता संस्थाले तीन महत्त्वपूर्ण बुँदा केलाएर प्रस्तुत ग¥यो। पहिलो– योग्यतम शिक्षकहरूको व्यवस्था गर्नु, दोस्रो– योग्यतममध्ये पनि योग्यतम शिक्षकहरूको छनोट गरी बहाली गर्नु, तेस्रो– विद्यार्थीहरू जहाँनेर पछि पर्छन् तत्काल उनीहरूलाई शैक्षिक सहयोग उपलब्ध गराउनु। यी तीन बुँदालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने हो भने शिक्षामा कम लगानीमा पनि ठुलो सुधार निश्चित रूपमा पाइनेछ। बेलायत, अमेरिका र अस्ट्रेलियाले शिक्षामा ठुलो लगानी गरे पनि इच्छाअनुसार सुधार हासिल गर्न सकेका छैनन् तर दक्षिण कोरिया, सिङ्गापुर र हङकङ आदि देशमा उत्कृष्ट स्नातक र स्नातकोत्तरलाई मात्र शिक्षकमा बहाली गरिएकाले गुणस्तरीय शिक्षा उपलब्ध छ। भौतिक साधन र शैक्षिक सामग्रीको प्रचुरता मात्रले शिक्षण सिकाइमा उल्लेखनीय परिवर्तन ल्याउन सकिँदैन जबसम्म ती साधनहरूको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन । यसै सन्दर्भमा छिमेकी राष्ट्र भारतका पूर्व राष्ट्रपति सर्व पल्ली राधाकृष्णन्ले भनेका छन्, ’देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ।’ त्यस्तै पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामका शब्दमा, ’शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन् ।’ अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ । सय वर्ष पूर्व अमेरिकामा शिक्षक सङ्घ र समुदायले शिक्षकहरूले पालन गर्नुपर्ने आचारसंहिता पारित गरेका थिए। जसको उद्देश्य शिक्षकहरूमा व्यक्तिगत, सामाजिक र पेसागत गुण तपसिल बमोजिम हुनुपर्ने भनी उल्लेख गरिएको थियो। व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान् आदि। सामाजिक गुण पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवा भाव– क्रियाशील, विनोदप्रिय, नेतृत्व गर्ने क्षमता र समुदायको ज्ञान आदि। सबभन्दा प्रमुख पेसागत गुण हो। विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बाल मनोविज्ञानको ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील, खोज आदि। सारांशमा हाम्रा स्थापित मूल्य मान्यता र आदर्शलाई शतप्रतिशत रूपमा पश्चिमले स्वीकार गरिसकेका हुन्। हाम्रो शास्त्रमा दुई ठुला गुरुको चर्चा गरिएको पाइन्छ– एउटा देव गुरु बृहस्पति अर्को असुर गुरु शुक्राचार्य। शिक्षक देशका निर्माता हुन् भने शिक्षक विनाशकर्ता पनि बन्न सक्छन् । तसर्थ आज गुरूपूणिमाका दिन हामीले कस्तो गुरुको पूजा गर्नुपर्ने र कस्तो गुरुलाई चोर भनेर तिरस्कार गर्ने हो सोच्नुपर्छ । गुरुलाई ब्रह्मा भन्नुको अर्थ हो– बालबालिकाको सर्वाङ्गीण विकासमा सिर्जनात्मक शक्तिको विकास गर्नु तथा विष्णुजस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्नु तथा महेश्वरजस्तै अज्ञान, कुमार्ग, कुविचारको नाश गर्नु। कुशल भान्छेको अभावमा सामानको प्रचुरताले सुस्वाद परिकार सम्भव नभएजस्तै असल, योग्य शिक्षकको अभावमा असल शिक्षा सम्भव छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *