जेनजी आन्दोलनको आँधीमा उभिएकी आशिका तामाङ
काठमाडौँ । जेनजी आन्दोलनको अत्यास लाग्दो, भयावह र कष्टकर परिदृश्यबीच देशले एउटा अदृश्य नायिकालाई चिनेको छ । आशिका तामाङ । हुन त यो नाम नयाँ भने होइन्, यस अघि पनि उनले गरेको विभिन्न कार्यले उनी परिचित नै थिइन् ।
जेनजी आन्दोलनका घाइतेहरूको चिच्याहट र आर्तनादले अस्पतालका पर्खालहरू थर्किरहेका बेला, कोही आफन्त नभएका युवाहरू, आमाहरू, दाजुभाइहरू, ती अचेत शरीरहरूको स्याहार गर्न नजिक पुगेकी थिइन् आशिका । न त उनले त्यो दिन पत्रकारको ध्यान तान्न खोजिन्, न त सामाजिक सञ्जालको वाहवाहीको अपेक्षा गरिन् । तर, उनी त्यहाँ थिइन् खाना, पानी, मलमपट्टी, लुगा, औषधि, र माया बोकेर । जेनजी आन्दोलन अघि पनि सामाजिक सेवामा सक्रिय तामाङ अहिले यो आन्दोलनमा घाइते भएका र ज्यान गुमाएका परिवारहरूलाई आर्थिक सहयोग गर्दै घाउमा मलमपट्टि लगाउनमा व्यस्त छिन् ।
उनले ती घाइतेहरूलाई खाना खुवाइन्, कपडा फेर्न सहयोग गरिन्, आवश्यक औषधि जुटाइन्। कतिपयको त परिवारसँग पनि सम्पर्क हुन सकेको थिएन । उनी आफै उनीहरूका लागि ‘दिदी’ बनिन्, ‘छोरी’ बनिन्, ‘घरको मान्छे’ बनिन् । उनी ‘कुनै संगठनकी प्रतिनिधि’ होइनन्, ‘कुनै दलद्वारा परिचालित कार्यकर्ता’ होइनन् । उनी मानवताको एक सजीव आवाज हुन् । घाइतेहरूको पीडामा उनी आफन्त बनिन् ।
जेनजी आन्दोलनका क्रममा काठमाडौंका अस्पतालहरू वीर, टिचिङ, सिभिललगायतका ठाउँहरू घाइतेहरूले भरिएका थिए । त्यहाँ स्याहारको लागि न त पर्याप्त जनशक्ति थियो, न त व्यवस्था । नर्स र चिकित्सकहरू आफै थाकेका थिए । त्यही बेला, कोही आफन्त नभएका घाइतेहरूको नजिक पुगेकी तामाङ । न उनी पत्रकारको क्यामेरा खोज्दै थिइन्, न त सामाजिक सञ्जालको वाहवाही । उनको सेवाभाव केवल उपचार र व्यवस्थापनमा सीमित रहेन। बझाङका शहीद सुभाष बोहराका परिवारलाई उनले एक लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरिन् । ज्यान गुमाएका अन्य आन्दोलनकारीहरूको पशुपति आर्यघाटमा अन्त्येष्टि व्यवस्थासम्म उनले सहयोग गरेकी छन्।
आशिका तामाङ सामाजिक सेवामा पहिले देखिनै सक्रिय थिइन् । तर जेनजी आन्दोलनमा उनले जसरी आफुलाई समर्पित गरिन्, त्यो दर्शनीय मात्र होइन, ऐतिहासिक पनि बन्यो । उनी कुनै पनि बेला प्रचारको लागि अघि बढिनन् । न त उनले कुनै संस्था वा दलको अनुमोदन खोजिन् । उनी उठिन्, जब मानवीयताको आवाज थरथराइरहेको थियो। जब अस्पतालका कोरिडोरहरूमा रगत बगिरहेको थियो, अस्पतालका शैयामा बेहोस लाशसरह रहेका घाइतेहरू पीडाले चिच्याइरहेका थिए, आशिका त्यहीँ थिइन् ।
कुनै समय उनको कामलाई धेरैले मूल्याङ्कन गर्दैनथे । कतिपयले त ‘यस्तो पनि समाज सेवा हुन्छ ?’ भनेर तुच्छ टिप्पणी गरे। तर आज ती सबै मौन छन् । सामाजिक अभियन्ता आशिका तामाङ आज एउटा पात्र होइनन्, उनी एक प्रेरणा हुन् । एक यस्तो जीवन्त उदाहरण, जसले हामी सबैलाई सम्झाइन् मानवीयता भनेको कुनै सङ्गठन वा नीतिमा सीमित हुँदैन, त्यो त दिलको कुरा हो । जब एक मनले अर्को पीडामा साथ दिन्छ, त्यहीँबाट सुरु हुन्छ परिवर्तनको बीउ । आज हामीले उनीजस्तो पात्रको कथा लेख्नुपर्छ, सुनाउनुपर्छ, ताकि ‘नेतृत्व’ भनेको कुर्सी होइन, मानवीयता हो भन्ने पाठ सिकुन् ।
अन्त्यमा: आशिका तामाङ एउटा उदाहरण हुन् । जसले देखाइन् कि, जब देश पीडामा डुबिरहेको हुन्छ, जब आन्दोलनको आँधीले जनता र राज्य दुबैलाई थिचिरहेको हुन्छ, त्यति बेला पनि एक नारी बिना तामझाम, बिना प्रचार, केवल मानवताको आवाजमा उठेर लाखौँको हृदय छुने सेवा गर्न सक्छे। उनको कर्म, उनको यो संवेदना र उनको निस्वार्थ समर्पणले हामी सबैलाई फेरी एक पटक सम्झाएको छ ।
“समाजसेवा गर्न पद चाहिँदैन, पीडामा साथ दिन सक्ने आँट चाहिन्छ।”
“हृदयमा मानवीयता छ भने समाजसेवा गर्न पदको पर्खाइ गर्नु पर्दैन।”
“दया र आँटले भरिएको मन नै साँचो सेवकको चिनारी हो।”
यिनै आशिकाहरूका कारण आज पनि समाजमा आशा बाँकी छ, मानवता बाँकी छ, र परिवर्तनको सम्भावना बाँकी छ ।(धन्यवाद आशिका दिदि !)