‘व्यालेट’ विद्रोह ! ‘नेपाली केजरीवाल’को खोजी

लेखकः गौतम

काठमाडौँ । शब्दमा ‘प्रजातन्त्र’ वा ‘लोकतन्त्र’ जे नामाकरण गरे पनि सत्तामा आम जनताको सहभागिता भनेको ‘दलीय व्यवस्था’ले नै व्यवस्थित गर्ने हो । त्यसैले दलीय (बहुदलीय) व्यवस्थालाई प्रजातन्त्रको ‘व्यूटी’ पनि भन्न सकिन्छ । तर जब दलीय व्यवस्थाप्रतिनै विश्वास र भरोसा टुट्न थाल्छ, तब आम जनताले कुनै न कुनै रुपमा विद्रोह गर्छ, त्यो निश्चित हो । हालै सम्पन्न स्थानीय चुनावको नतिजाले त्यस्तो ‘विद्रोह’को सामान्य संकेत प्रष्ट रुपमा दिएको छ ।

हो, यतिखेर देशको राजधानी तथा प्रमुख प्रशासकीय केन्द्र काठमाडौं महागरपालिकामा बालेन साह र पूर्वी नेपालको प्रमुख शहरभित्र पर्ने धरान उप–महानगरपालिकमा हर्क साम्पाङको चुनावी विजयले सिङ्गो देशको राजनीति गर्माएको छ । मूलधारका सबै राजनीतिक पार्टीभित्र यी दुई पात्रको विजय बहसको विषय बनेको छ, पार्टी संगठनहरुमा भुइँचालो पैदा गरिदिएको छ । स्थानीय चुनावमा विजयी भएका बालेन र हर्क दुवै स्वतन्त्र उम्मेदवार हुन् । सधैं सत्ताको केन्द्रबिन्दूमा रहेको नेपाली कांग्रेस र नेकपा एमालेको राम्रो पकड भएको मानिएको काठमाडौं र धरानजस्तो ठाउँमा स्वतन्त्र उम्मेदवारले चुनावी जीत हासिल गर्नु सामान्य कुरा होइन । तर यसपटक आम जनताको मतले यसलाई सामान्य बनाइदिएको छ ।

सत्य स्वीकार गर्न गार्हो मानिरहेका र यस किसिमको जीत सम्भव हुन्छ भनेर सामान्य कल्पनासमेत नगरेका राजनीतिक दलीय संयन्त्रभित्र रहेका धेरै नेताहरु यतिखेर स्वतन्त्र उम्मेदवारको जीतले व्यवस्थामाथिनै खतराको घण्टी बजाएको तर्क गरिरहेका छन् । दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारहरुको चुनावी विजयलाई व्यवस्थामाथि कै खतराको घण्टी देख्नु भनेको अर्को निरंकुश चिन्तन सिवाय केही पनि होइन । हो, पुरानो दलहरुका लागि यो खतराको घण्टी हुनसक्छ, तर दलीय व्यवस्थाकै विरुद्धको ‘खतरा’ भने यो होइन । यो प्रजातान्त्रिक अभ्यासको सुन्दरताभित्र पर्ने विषय हो ।

दलीय व्यवस्थाबिना शासन–सत्तानै चल्न नसक्ने भन्ने खालका मान्यता राख्नेहरु नै यतिखेर ‘बालेन र हर्कहरुले केही पनि गर्न सक्दैनन्, यी ‘जोकर’ मात्रै बन्नेछन्’ भन्न थालेका छन् । मूलधारका परम्परागत राजनीतिक शक्तिप्रति विश्वास गुमाउँदै गएका आम जनताको मन जीतेर देश र समाजका लागि केही गर्छु भनेर उदायका यस किसिमका स्वतन्त्र उम्मेदवाहरुलाई हतोत्साहित गर्ने गरी दिइएका यस्ता अभिव्यक्ति कति हदसम्म सत्य हुन्छन्, त्यो भविष्यले नै निर्धारण गर्नेछ । उनीहरुले बुझ्नुपर्छ कि आम जनता यस्ता स्वतन्त्र उम्मेदवारहरुप्रति किन आकर्षित हुन पुगे ? यो अहिलेको मूल बसहको विषय हो । किनकि बालेन र हर्कको विजय आम जनताले गरेको ‘व्यालेट विद्रोह’ हो । यो विद्रोह मूलधारको राजनीतिक शक्तिका लागि भने पक्कै पनि ठूलो चुनौति हो ।किन उदाय स्वतन्त्र उम्मेदवार ?

उसो त स्वतन्त्र उम्मेदवारको उदय नौलो तथा असामान्य होइन । बोलनको उदयलाई कतिपयले पञ्चायतकालकी विजयी उम्मेदवार नानीमैया दाहालसँग तुलना गरेर मजाक गर्ने गरेका छन् । तर नानीमैयाँसँग बोलन र हर्कको तुलना हुन सक्दैनन् भनेर बुझ्न नसक्ने हो भने मूलधारका राजनीतिक शक्ति, (विशेषगरी नेपाली कांग्रेस र नेकपा एमाले)का लागि बालेन र हर्कको विजय निकै महंगो साबित हुनेछ । यहाँनेर भारतमा उदाएका अरबिन्द केजरीवालको प्रसंगलाई जोड्न सकिन्छ । कतिपयले बालेन र हर्कको उदयलाई केजरीवालसँग पनि तुलना गर्ने गरेका छन् । हो, बालेन र हर्कको उदय नानीमैयासँग होइन, केजरीवालसँग गर्दाचाहिं सही र वैज्ञानिक हुनेछ ।

उसो त नवनिर्वाचित पात्र बालेन साह र हर्क साम्पाङको पृष्ठभूमि र विशेषता फरक–फरक देखिन्छ । तर उनीहरुलाई मतदान गर्ने आम जनताको मनोविज्ञानको पृष्ठभूमि भने समान छ । त्यो हो– मूलधारका राजनीतिक पार्टी तथा उम्मेदवारप्रतिको अविश्वास । हो, वर्षौदेखि पार्टीको नेतृत्व र सत्ताको नेतृत्वमा बारम्बार एउटै अनुहार देखिनु, तिनीहरुबाटै ठूला–ठूला विकास र समृद्धिको भाषण हुनु, तर काम भने शून्य बराबरजस्तो देखिनुले आम जनता चिडिएका छन् । मूलधारका राजनीतिक शक्तिले ‘विकास, समृद्धि र सुशासन’को कुरा गर्नुलाई माजकको रुपमा हेर्न थालिएको छ । भ्रष्टाचार र सरकारी सेवामा हुने ढिलासुस्ती, बाहनाबाजीले आजित भएका जनताले नै यसपटक बालेन र हर्कलाई चुनाव जिताएका हुन् । विशेषगरी यसमा युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको छ । यो पुराना राजनीतिक दल र नेता विरुद्धको आम जनताको विद्रोह हो, जसलाई राजनीतिक भाषामा ‘व्यालेट विद्रोह’को रुपमा परिभाषित गर्न सकिन्छ ।

त्यसो त धनगढी र जनकपुर उप–महानगरपालिकाको मेयरमा निर्वाचित पात्र मनोज साह र गोपाल हमालको चर्चा पनि कम छैन, किनकि उनीहरुले पनि स्वतन्त्र उम्मेदवारीनै दिएर चुनाव जितेका हुन् । यसरी स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्ने अन्य पात्रहरु पनि नभएका होइनन् । तर स्वतन्त्र उम्मेदावरी दिएर चुनाव जित्ने यी पात्रको पृष्ठभूमि कुनै न कुनै राजनीतिक दलसँग जोडिएको छ । अझ भनौं, धनगढीका गोपाल हमलाका अलवा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्ने प्रायः सबै पात्र कुनै न कुनै राजनीतिक दलका ‘विद्रोही उम्मेदवार’ हुन् । स्थानीय पार्टी संगठन र जनमानसमा विश्वास जित्ने खूबी हुँदा–हुँदै पनि पार्टी नेतृत्वले टिकट नदिँदा उनीहरुले स्वतन्त्र उम्मेदवारी दिए र चुनाव जिते । तर बालेन र हर्कको सवालमा यो कुरा लागू हुँदैन । उनीहरु वास्तवमै स्वतन्त्र थिए, कुनै राजनीतिक संगठनको सदस्य थिएन । तर पनि चुनाव जिते । ‘नेपाली केजरीवाल’को खोजी राजनीतिक चेतन भएका आम जनता, जो मूलधारका राजनीतिक शक्तिको चरित्र र व्यवहारबाट आजित भएका छन्, उनीहरुको मन–मस्तिष्कमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदय र उनले सुशासनका लागि गरेको सार्थक प्रयासको चित्र घुमिरहेको छ, जुन मस्तिष्कले केही वर्षअघि देखिनै सुसुप्त रुपमा नेपालमा पनि ‘नेपाली केजरीवाल’को खोजी गरिरहेको छ । आम जनतामा विकास हुँदै गरेको यो चेतनालाई मध्यनजर गरेरनै नै केही पूरानै पार्टीका पूरानै नेताले ‘नयाँ शक्ति’को नाममा समेत राजनीतिक अभ्यास शुरु गरे, तर उनीहरु सफल हुन सकेनन् ।

यस्तै पृष्ठभूमिमा यसपटक भने बालेन र हर्कले जीत हासिल गरेका छन्, यो जीतसँगै फेरि नेपालमा नेपाली केजरीवालको खोजी हुन थालेको छ । उसो त स्वतन्त्र रुपमा उदायका बालेन र हर्कहरुको परीक्षा शुरु भइसकेको छ, उनीहरुलाई काम गर्न त्यति सजिलो छैन । यी स्वतन्त्र उम्मेदवार कुनै पार्टीमा प्रवेश गरे भने अलगै कुरा, नत्र मूलधारका राजनीतिक शक्तिको संगठनले नै उनीहरुलाई असफल बनाउने हरसम्भवको कोशीश गर्नेछ । कारण एउटै हुन्छ– बालेन र हर्कहरु सफल हुनु भनेको ती राजनीतिक दल तथा संगठन असफल हुनु हो । दलीय व्यवस्थाको सबैभन्दा नकारात्मक पक्षनै यही हो । अर्थात् आम जनताबाट ‘जस’ लिनका लागि राजनीतिक पार्टीका प्रतिनिधि हरेक काम आफ्नो पार्टीका कारण मात्रै सम्भव भएको देखाउन चाहन्छन्, यही ‘जस’ प्राप्त गर्ने प्रतिस्पर्धामा राजनीति हुन्छ र मूल समस्याका प्रति कोही पनि सम्वेदनशील बन्न सक्दैनन् । त्यसैले बालेन र हर्कहरु सफल हुनु भनेको पार्टी शक्ति र संगठन असफल हुनु हो भन्ने उनीहरुले बुझेका हुन्छन् । यिनीहरुले नै बालेन र हर्कलाई असफल साबित गर्ने प्रयास गर्नेछन् । तर केही गरी बालेन र हर्कहरु थोरै हदसम्म भए पनि सफल भइदिए भने ‘नेपाली केजरीवाल’ को पृष्ठभूमि तयार हुनु स्वभाविक हुनेछ ।

काठमाडौंमा बालेनको उदयलाई दिल्लीमा केजरीवालको उदयसँग जोडेर व्याख्या गर्न शुरु भइसकेको छ । यो अस्वाभाविक होइन । बालेन र केजरीवालसँग केही मिल्दाजुल्दा कुरा पनि छन् । जस्तो कि यी दुवै पात्र देशको राजधानी शहरमा उदाएका छन् । दोस्रो कुरा, दुवै पात्र कर्मचारी र प्राविधिक पृष्ठभूमिका हुन् । अनि दुवैले पुरानो इतिहास बोकेका र बलियो संगठन भएका राजनीतिक दललाई पराजित गरेर चुनावी जीत हासिल गरेका छन् । त्यसैले मूलधारका राजनीतिक शक्तिसँग बिरक्तिएका आम जनताले बालेनलाई नै केजरीवालको रुपमा देख्न थाल्नु अनौठो होइन । तर बालेनसँग केजरीवालको जस्तो सामाजिक आन्दोलनको अनुभव छैन, साथै उनले कुनै राजनीतिक दल बनाएका पनि छैनन् । त्यसैले काठमाडौं महानगरपालिकाको पाँच वर्षीय कार्यकालले बालेन ‘नेपाली केजरीवाल’ बन्ने या नबन्ने भन्ने कुराको तय गर्नेछ । साथै यही कुराले उनको राजनीतिक भविष्य पनि निर्धारण गर्नेछ । तर ‘व्यालेट विद्रोह’ले जन्माएका बालेनलाई काम गरेर काठमाडौंबासीको मन भने त्यति सजिलो छैन, उनको प्रमुख बाधक भनेको राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरुनै हुनेछन् । यही चुनौतिका बीच उनका लागि काम गर्ने अवसरहरु भने प्रशस्त हुनेछन्

काठमाडौंमा सञ्चालित ‘चेन–रेष्टुरेष्ट’का शौचालयलाई सार्वजनिक शौचालय बनाउने बालेनको निर्णयलाई काठमाडौंले मात्रै होइन, देशभरी भव्य स्वागत गरिएको छ । यहाँसम्म की बालेनकै समर्थनमा केही व्यवसाहिक संस्थाहरुले समेत आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने निर्णय गरेका छन् । यो बालेनप्रतिको ठूलो ‘क्रेज’ हो । तर नेपाली केजरीवाल बन्नका लागि यतिनै प्रर्याप्त हुँदैन । अर्थात् ‘सार्वजनिक शौचालय’को अभियान सामान्यनै हो, जसले बालेनलाई देशव्यापी रुपमा चिनाइरहेको छ ।

अबका दिनमा काठमाडौं महानगरमा बालेनले कसरी काम गर्छन्, त्यो हेर्न बाँकीनै छ । कमिसन प्राप्त नहुने काममा हातै नहाल्ने राजनीतिक दलका जनप्रतिनिधि र कर्मचारीतन्त्र बालेनका लागि सबैभन्दा ठूलो चुनौति हुनेछ । यदि यो चुनौतिलाई सामना गर्न सके र सुशासन कायम राख्दै महानगरपालिका बासीको हितमा एकाध नमूना काम गर्न सके भने पनि काफी हुनेछ, जसले आगामी पाँच वर्षपछि बालेनलाई ‘नेपाली केजरीवाल’ बन्ने पृष्ठभूमि तयार गर्नेछ । यही कुरा धरानका हर्क साम्पाङको हकमा पनि लागू हुनेछ ।

त्यसो त धरान र काठमाडौंको पृष्ठभूमि, आम जनताको आवश्यकता र चाहना तथा गर्नुपर्ने कामको प्राथमिकता फरक छन् । अबको पाँच वर्ष यी दुई पात्रमाथि आम नागरिक तथा सञ्चार जगतको नजर परिनै रहनेछ । बालेन र हर्क दुवै यस्ता पात्र हुन्, जसको राष्ट्रीय राजनीति र प्रशासनिक नीतिसँग खासै सरोकार पनि छैन । केन्द्रले तय गरेको मूल नीतिअनुसार नै उनीहरु चल्नुपर्ने हुन्छ । तर पनि यो पाँच वर्षको अवधिमा उनीहरुले ईमानदार भएर काम गर्न सके अनि राजनीतिक पार्टीबाट निर्वाचित जनप्रतिनिधिको ‘कमिसनतन्त्र’ अन्तर्गत मौलाएको भ्रष्टाचारजन्य कर्मलाई रोक्न सके भने राष्ट्रिय नीति निर्माण र कार्यान्वयनको नेतृत्व पनि सुम्पिन्न आम जनता तैयार हुनेछन् । अर्थात् दुई पात्रको कार्यशैली, आचरण र चरित्रले नै आम नागरिकको आशा, भरोसा र विश्वासको भविष्य निर्धारण गर्नेछ । त्यतिखेर यिनैमाथि ‘केजरीवाल’को अनुहार खोज्न थालियो भने अन्यथा हुने छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *