“हाम्रो नाममा एक टुक्रा जमिन पनि छैन, कहाँ जाउँ”
रुपन्देही । ‘चरी लैजा समाचार, हामी भयौ बेघरबार….’ अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गित बुटवल उपमहानगरपालिका—१९ निवासी केउली थारुको जीवनमा मेल खाएको छ । तीन पुस्तादेखि बसोबास गर्दै आएको मनोहरापुरमा रहेको झुप्रो साहुले भत्काइदिएपछि केउलीको परिवार अहिले बेघर भएको छ । उहाँहरुसँगै सुधन थारुको परिवार पनि बेघर हुने अवस्थामा पुगेको हो । बुटवलका स्व भरत सिंहको जग्गामा २०३८ सालदेखि जोतभोग गर्दै आएका दुई परिवार अहिले सडकमा आइपुगेका छन् ।
ससुरा रामचरण र केउलीका श्रीमान् पूर्णवासी थारुलेसमेत सोही जग्गामा जोतभोग गर्दै आएका थिए । “मेरा ससुराको पालादेखि हामी यहीँ बस्दै आएका छौँ, हाम्रो नाममा एक टुक्रा जमिन पनि छैन, कहाँ जाउँ”, ४६ वर्षीया केउली गुनासो गर्नुहुन्छ । लामो समयसम्म उक्त जग्गाको जोतभोग र रेखदेख गर्दै आएका सबै परिवारलाई स्व सिंहले बस्ने बासका लागि नामसारी गरेरै दिने बचन दिँदै आउनुभएको थियो । केउलीका चार जनाको परिवार पनि बस्ने बास नखोसिनेमा ढुक्क थिए तर दुई वर्षअघि जग्गाधनी भरत सिंहको निधन भएपछि उहाँका परिवारले बोली फेरे ।
भरतकी श्रीमती अगमदेवीले छोरी अङ्गीला र ज्वाइँलाई लगाएर आफूहरुको बास भत्काइदिएको उनीहरुको गुनासो छ । परिवारले डोजर लगाएर बास भत्काइदिएपछि केउलीको परिवार अहिले सोही ठाउँमा लामो समयदेखि खाली रहेको एक जग्गाधनीको घरमा छन् । “मेरा ससुरा र श्रीमान् यही जग्गा जोत्दाजोत्दै बिते, म कहाँ जाउँ रु, मेरो जाने ठाउँ छैन, सडकमा पनि कति दिन बस्न सकिन्छ ?” उहाँको गुनासो छ । अहिले मजदूरी गरेर गुजारा गर्दै आएकी केउलीका दुई छोरा र एक छोरी छन् ।
बस्ने बास भत्किएपछि उमेर पुगेकी छोरी सङ्गिताको उहाँलाई निकै चिन्ता छ । “बिहे गर्ने उमेरकी छोरी छ , सडकमै गएर बस्दा पनि केही हुने हो की भन्ने चिन्ता लाग्छ,त्यसैले समाज चिनिसकेको यो ठाउँ छाड्न सकेकी छैन”, जग्गाधनीले जहाँ भए पनि एक टुक्रा जमिन दिनुपर्ने केउली र सुधनका परिवारको माग छ, “हामी कतै जाउँ भने आफ्नो नाममा एक टुक्रा जमिन पनि नभएकाले जग्गाधनीले जहाँ भए पनि हामीलाई बास दिनुपर्छ ।”
सोही ठाउँमा बस्दै आएका अन्य दुई घरपरिवारलाई भने स्व सिंहले जग्गा नामसारी गरेर दिए पनि केउली र सुधनको परिवारलाई केही नदिएको टोल विकास संस्थाका शिवकुमार थारु बताउनुहुन्छ । “स्थायी बसोबासको व्यवस्था नमिलाई यसरी घर भत्काउन नमिल्ने हो, यो अन्याय भयो”, उहाँ भन्नुहुन्छ ।
साहुले केउलीको घर भत्काए पनि सुधनको भने एउटा झुप्रो बाँकी छ । त्यही झुप्रोमा सुधनको परिवार बस्दै आएको छ । “इट्टा लगाएर बनाएको सानो झुपडी थियो त्यही पनि भत्काइदिए अब यही झुप्रो छ, यो पनि भत्काइदिने रे अब कहाँ जाने होलारु”, सुधन प्रश्न गर्नुहुन्छ । थारु परिवारले जग्गाा जोतभोग मात्र होइन वर्षौदेखि अगमदेवीको घरमा पनि काम गर्दै आएका तर काम गरेबापतको पारिश्रमिक लिएका छैनन् । सुधनका भाइ ४६ वर्षीय मणिराम २७ वर्षदेखि जग्गाधनीकै घरमा काम गर्दै आउनुभएको छ । उहाँले घरमा भाडा माझ्ने, सफाइ गर्नेलगायत काम गर्दै आए पनि सुधनको परिवारले पारिश्रमिक पाएका छैनन् । “हाम्रो काका ससुराले यतिका वर्ष काम गर्नुभएको छ तर हामीले एक पैसा पनि लिएका छैनाँै बरु हाम्रो सासूसमेत सोही घरमा नियमित काम गर्न जानुहुन्छ ”, सुधनकी बुहारी मुनाकुमारी भन्नुहुन्छ ।
लामो समयदेखि घरमा काम गरेर बसेपनि सिंह परिवारले आजसम्म पारिश्रमिकसमेत नदिएको उहाँको गुनासो छ । “सुधन राम्रोसँग बोल्न सक्नुहुन्न, यही सोझो पनको फाइदा उठाएर अगमदेवीको परिवारले एक रुपैँया समेत दिएका छैनन्”, मुनाकुमारी भन्नुुहुन्छ ।
थारु परिवारलाई यो ठाउँबाट हटाउन अगमदेवीकी छोरी अङ्गिला पटक–पटक आउनुहुन्थ्यो । प्रहरीसँग पुगेर पनि तुरुन्त त्यहाँबाट हट्न र नहटे जे पनि हुनसक्ने चेतावनी दिने गरेको केउलीकी छोरी सङ्गीता बताउनुुहुन्छ । राति प्रहरी आएर धम्की दिएपछि असुरक्षा भएको भन्दै न्याय दिन केउली र सुधनका परिवारले टोलका अगुवा, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, वडा कार्यालयमा पटक–पटक धाए पनि आफ्नो मागलाई कसैले गहनरुपमा नलिएको उनीहरुको दुःखेसो छ । “हाम्रो कुरा सुन्न त परै जाओस् वडा कार्यालयले त निवेदनसमेत लिन मानेन”, सङ्गीताको गुनासो छ ।
वडाले चासो नदिएपछि थारु परिवारले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिका उजुरी दिएका छन् । त्यहाँका कानुन अधिकृत ध्रुव भट्टराई न्यायिक समितिमा थारु परिवारको उजुरी परेको जानकारी दिँदै केही दिनमै दुवै पक्षलाई राखेर छलफल गरिने बताउनुहुन्छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई गाँस, बास र कपासको ग्यारेन्टी गरेको छ तर झण्डै एक महिनादेखि बेघर भएर हिँडेका यी थारु परिवारको विषयमा आवाज उठाउने कोही नहुनु विडम्बना हो भन्नुहुन्छ, छिमेकी राजकुमारी मल्ल । “म ४५ सालदेखि यहीँ ठाउँमा बसोबास गर्दै आएकी छु । म आउँदा उहाँहरु यही बस्नुहुन्थ्यो”, उहाँ बताउनुहुन्छ ।
अगमदेवीको बिघौँ बिघा जग्गा जोतभोग गर्ने, गाईभँैसी हेर्ने र घरमासमेत कामका लागि थारु परिवारले सघाउँदै आएको मल्लको भनाइ छ । “पहिला उहाँहरुको जग्गा धेरै थियो, कतिले त जग्गा लिएर बेचबिखन गरी यो ठाउँबाट हिँडिसके तर यी दुई थारु परिवारलाई साहूले दिन्छु भनेको समयमा जग्गा नामसारी नदिँदा अहिले बिचल्ली पर्ने अवस्था आयो”, मल्लले भन्नुहुन्छ ।
यी थारू परिवारले ४१ वर्ष अघिदेखि अधिया र मोहियानीको सर्तमा यो जग्गा कमाउँदै आए । अहिले तीन पुस्ता भयो । उनीहरुले करिब १० बिघाभन्दा बढी जमिन मोही भएबापत जोतेका छन् । मोहीबापतको जमिन जोत्दा जमिनदारकोमा गएर उनीहरुले बिना ज्यालामा काम गरे । धेरै हैरानी बेहोरे । उत्पादन घरैमा पु¥याइदिए । सोही जग्गा जोत्दाजोत्दै नौ वर्ष अघि केउलीका श्रीमान् पूर्णवासीको मृत्यु भयो । अहिले उनीहरुले जग्गा जोत्न पनि छाडेका छन् । जमिन्दारले पनि मनोहरापुर क्षेत्रको धेरै जग्गा बिक्री गरिसकेका छन् । अहिले रहेको ८÷१० कट्ठा जग्गामा कृषि गरेपनि खान नपुग्ने भएकाले थारु परिवारले अहिले मजदूरी गर्दै आएका थिए ।
जग्गा धनी भने थारु परिवारले जसरी पनि जग्गा छाड्नुपर्ने अडानमा छन् । जग्गाधनी अगमदेवीकी छोरी अंगिला थारु परिवालाई जग्गा दिन नसक्ने बताउनुुहुन्छ । “पहिला उनीहरु हरुवा बसेका हुन्, अब उनीहरुको काम पनि छैन, हामी जग्गा दिन पनि सक्दैनौँ”, उहाँ भन्नुहुन्छ, “थारु परिवारले सहमतिमा आफ्नो जग्गा नछाडे जसरी पनि हटाइन्छ न्यायिक समितिमा उजुरी दिएका छन् भन्ने सुनेकी छु, हामी अहिले चितवनमा होटल बनाउन व्यस्त छौँ, दुई चार दिनपछि आएर छलफल गर्छौ।”
नेपालको संविधान २०७२ को भाग (३) धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । सोही भागको धारा २५ ले प्रत्येक नागरिकलाई कानुनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्न सक्ने अधिकार दिएको छ ।
आफ्नो हक खोज्न नसक्ने केउली र सुधनजस्ता मोहीलाई हकबाट वञ्चित नै गरियो । दोहोरो स्वामित्व अन्त्य गर्ने कार्यक्रमले मोहीको स्वामित्वमा जमिन उपलब्ध नगराइएको र मोहियानी सर्तमा कमाउँदै आएको जग्गाबारे कानुन स्पष्ट नभएको वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेल बताउनुहुन्छ ।”