कांग्रेस-एमाले वर्तमान सरकार- आफैले सोधिरहेका प्रश्नको जवाफ अब काम गरेर कसरी देलान ?
काठमाडौँ । नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । उनलाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका थिए । त्यसैसँगै उनको नेतृत्वमा गठन भएको नयाँ सरकारमा २१ मन्त्री पनि नियुक्त भएका छन् ।
वर्तमान कांग्रेस-एमालेको नयाँ गठबन्धनमा साना दलहरु जसपा, जसपा नेपाल र लोसपा पनि सहभागी भएका छन् । दलहरुबीच विवाद र मन्त्री छान्ने सकसका बीच पटक पटक किस्तामा मन्त्री नियुक्ति गर्ने परम्परा यस पटक तोडिएको छ । किनभने यस पटक २१ जना मन्त्रीहरुले एकैपटक सपथ ग्रहण गरेका छन् । कुनै समय कुनै पनि दल सरकारमा पुगिसकेपछि आफ्नो दलबाट कसलाई मन्त्री बनाउने अझ भन्ने हो भने कस्को नेतृत्वमा सरकारमा जाने भन्ने बारेमा नै लामो समय बित्ने गर्दथ्यो, तर यो पटक यस्तो भएन् । यसपटक कस्तालाई मन्त्री बनाइयो भन्ने बहस र विश्लेषण अघि नै एकै पटकमा २१ मन्त्री बनाएकोमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुरुवात भने औसतभन्दा राम्रो गरेको देख्न सकिन्छ ।
तर बर्तमान सरकारमा मन्त्री छनौटको कुरामा भने सुरुमै महिला सहभागिता र दलितको प्रतिनिधित्वको बारेमा प्रश्न उठेको छ । सरकार बन्ना साथ त्यसको आलोचना र नकारात्मक टिप्पणी भन्दा पनि कामका आधारमा टिप्पणी गर्नु नै उपयुक्त हुन्छ । तर यो सरकारको विषयमा शुरुमै २२ सदस्यीय मन्त्रीमण्डलमा केवल २ महिला मन्त्री छन् भने दलितको प्रतिनिधित्व शुन्य छ ।
हुन त यसअघि पनि महिलाको प्रतिनिधित्वबारे दलहरुको संकुचित सोचाई नै रहदै आएको पाइन्छ । तर कांग्रेस-एमाले जस्ता ठुला दल मिलेर सरकार बनाउदा पनि महिलाको उचित प्रतिनिधित्व गराउन नसक्नुले उनीहरुको सोच र काम गर्ने तरिका प्रष्ट बुझ्न सकिन्छ ।
अर्कोतर्फ खासगरी कांग्रेसका मन्त्रीहरु प्रश्नैप्रश्नको घेरामा हुने छन् । यस अघि प्रतिपक्षमा हुदा प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले तेर्साएका सबै प्रश्न अब कांग्रेस आफै तिर तेर्सिएका छन् । र अब कसरी काम गर्ने हो र कसरी गर्न सकिन्छ भनेर प्रतिपक्षलाई देखाउने समय अब वर्तमान सरकार कांग्रेस-एमाले लाई आएको छ ।
सहकारी ठगि प्रकरणदेखि गिरीबन्धु टीस्टेट प्रकरणमा कांग्रेसले कसरी काम गर्छ र आफैले सोधिरहेका प्रश्नको जवाफ अब काम गरेर कसरी दिन्छ, त्यो हेर्न बाँकी रहेको छ । त्यस्तै ठुलो र चुनौतीपूर्ण अग्निपरीक्षामा प्रधानमन्त्री ओली समेत रहेका छन् ।
देशको असहज आर्थिक अवस्थामा ओलीले देशको नेतृत्व सम्हालेका छन् । दुई ठुला देश चीन-भारतसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने देखि निराश बन्दै गएका आम जनतामा आशाको सञ्चार गराउने चुनौती ओलीमा रहेको छ । शिथिल रहेको अर्थतन्त्रलाई सहि बाटोमा ल्याउनेदेखि महंगी, बेरोजगारीले पिडित बनेको आम जनतालाई राहत दिने चुनौती ओलीलाई रहेको छ । एक अर्काप्रति कटाक्ष भन्दा पनि नतिजामुखी काम गरेर देखाउन प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान समग्र सरकारलाई चुनौती रहेको छ ।