सडकमा फेरि पलेटी कसेर बस्न सक्छौँ : पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् । संविधान संशोधन गरेर कांग्रेस–एमालेले जनताको अधिकार खोस्ने दुस्साहस गरिरहेको भन्दै उनले त्यसलाई सफल हुन नदिने बताएका हुन् । शनिबार काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा उनले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरूले संविधान संशोधन गर्न चाहेको स्पष्ट पारे । तर, जनताको अधिकार कटौती गर्ने आशयका साथ कांग्रेस–एमाले आए फेरि सडकमा पलेटी कसेर जनदबाब सिर्जना गर्न बाध्य हुने उनले चेतावनी दिए । दुई ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको जनताले प्राप्त गरेका अधिकारलाई खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने खालको भएको उनले जिकिर गरे । उनले त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने बताए । अध्यक्ष प्रचण्डले ठूला दुई दलले ‘थ्रेसहोल्ड’ बढाएर साना पार्टीलाई निस्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाए । सबै कम्युनिस्टलाई एकै ठाउँमा ल्याउने प्रयासलाई पनि अघि बढाइने उनको भनाइ थियो ।
कार्यक्रममा प्रचण्डले अहिले पनि के स्पष्ट छ भने संसद्को पहिलो र दोस्रो पार्टी मिल्ने कुरा सामान्य त त्यो स्वाभाविक मानिँदैन । कथित संसदीय लोकतन्त्रमा त झन् मानिँदैन । तर, अहिले त्यो अभ्यास गर्न खोजिँदै छ । दुईदलीय सिस्टममा लैजाने उद्देश्यका साथ सो काम हुँदै छ, संविधान संशोधनको उद्देश्यका साथ । यहाँ केही साथीहरूले भन्नुभयो– यहाँ तीनवटा धारको कुरा । त्यस्तो छैन । संविधान संशोधन गर्नै हुँदैन भनेर कसैले पनि भनेको छैन । अझ हामी त संविधान संशोधन गर्नुपर्छ भन्नेमा छौँ । किनकि, संविधानसभामा महिलाको अधिकार अथवा अरू उत्पीडित समुदाय, वर्गको अधिकार अझै पुगेको छैन । यहाँ त्यो अधिकारलाई अझ बढोत्तरी गर्नुपर्छ भनेर रिजर्भेसन राख्ने, भिन्न मत राख्ने, नेट अफ डिसेन्ट राख्ने पार्टी हुनुको नाताले हामी संविधान संशोधनको पक्षमा छौँ । तर, हाम्रो विरोध संविधान संशोधनको नाममा प्रतिगमनतिर नेपाली जनतालाई निकै ठूलो त्याग र बलिदान गरेर प्राप्त गरेको अधिकार खोस्ने जो दुस्साहस हुँदै छ, हाम्रो त्यहाँ विरोध हो । हामी कुनै पनि हालतमा त्यसो गर्न दिने छैनौँ । हामी फेरि जरुरी पर्छ भने सडकमा पलेटी कसेर भए पनि, जनताको साथमा बसेर भए पनि तिनीहरूको त्यो दुष्प्रयास सफल हुन दिने छैनौँ भनेको हो हामीले । त्यसकारण संविधान संशोधनको सैद्धान्तिक विरोध होइन । संविधानसभाबाट बनेको यो संविधानको मूलभूत विशेषता के हो भने यो देशले परिवर्तनलाई आत्मसात् गरेको छ । समय–समयमा जनभावनाअनुसार, जनताको आवश्यकता, राष्ट्रको आवश्यकताअनुसार संविधानका सबै पक्षहरू, प्रावधानहरू संशोधन हुन सक्छन् भनेर ढोका खुला राखेको छ । खालि देशको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, जनताको सार्वभौमसत्ताजस्ता आधारभूत कुरा ती मात्रै अपरिवर्तनीय छन । अरू सबै राजनीतिक प्रणाली, सिद्धान्त, मान्यता ती सबै जनताको चाहना, आवश्यकता र समयको आवश्यकताअनुसार परिवर्तन गर्न सकिन्छ भनेर भनिएको छ । संविधानसभाबाट बनेको यो संविधानको राम्रो पक्ष पनि यही हो भन्ने मलाई लाग्छ । त्यसमा थुप्रै राम्रा कुराहरू पनि छन् । थुप्रै सीमाहरू पनि छन् । तर, अहिले दुईवटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने । देशमा भएका विभिन्न विचार, राजनीतिक प्रवृत्ति, तिनीहरूको बीचमा बहस, छलफल हुन नदिने, अहिले एउटा कुरा आइराखेको छ– थ्रेसहोल्डको कुरा । तपाईंहरूले पनि सुन्नुभएको होला । थ्रेसहोल्ड बढाएर साना पार्टीहरू सबैलाई निस्तेज पार्ने, तिनीहरूको अस्तित्वविहीन बनाउने र अनि तथाकथित दुई पार्टी सिस्टम – जो पश्चिमा देशहरूमा चल्ने गरेको छ, त्यसैमा नेपाललाई पनि जबरजस्ती लैजाने खोज्ने र त्यहीमार्फत अधिनायकवादतिर देश लैजाने कोसिस भएको हुनाले नै हाम्रो विरोध हो । र, हामी संसद्‌मा मैले विश्वासको मत लिँदै गर्दा बडो विचित्रको परिघटनाहरू भए । म त्यतापिट्ट धेरै जान त चाहन्नँ, तर त्यहाँ हामी सबैले अपिल गरेको– नेपाली जनता, सबै समुदाय, जातजाति, भाषा, धर्म सबैलाई गरेको अपिल के हो भने खबरदार, नेपाली जनताले लामो समयको संघर्ष र बलिदान र अब त ७५ वर्षको कम्युनिस्ट आन्दोलन, यसबीचमा भएका सामन्तवादविरोधी, साम्राज्यवादविरोधी संघर्षमा भएको बलिदानहरू र उपलब्धिहरूमाथि फेरि पनि औँला ठड्याउन खोजिएको छ । त्यसलाई रोक्नुपर्दछ । जनताको तागतले त्यसलाई रोक्नैपर्दछ । रोक्न सकिन्छ । हामीले त यही अपिल गरेका छौँ । आज कमरेड पुष्पलालको जन्मशताब्दीको अवसरमा पनि हामीले एउटा संकल्प लिनैपर्दछ– सबै देशभक्त कम्युनिस्ट शक्तिलाई एउटै झन्डामुनि ल्याउने प्रयास छोडिन हुँदैन । र, प्रतिक्रान्तिकारीहरू, प्रतिगमनकारीहरूले संविधानमाथि घात गर्ने दुस्साहस सफल हुनै छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *