गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक पाँच–छ लाख आम्दानी गर्छन् नगेन्द्र

दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे ।

गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्छन् । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जी खेती गरेका छन् । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी गाउँमै व्यावसायिक सागसब्जी लगाएका छन् ।

कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीत ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ जस्तै भएको छ, खड्कालाई । उनले हाँस्दै भने, ‘ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो ?’ गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उनले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गरेका छन् ।

संकलन केन्द्र नहुँदा समस्या

पालिकामा तरकारी संकलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उनको दिनचर्या नै बनेको छ । बजारमा पाइला टेक्नेबित्तिकै उनी ‘गाउँले एफएम दाइको, गाउँले तरकारी आयो है‘’ भन्दै बजार–बजार डुल्दै चिच्याउँछन् ठट्यौली शैलीमा ।

दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन । डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्‍याउँछन् । ‘एकपटक ५५ केजी लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाहा भयो,’ उनी भन्छन्, ‘बुुढो मुन्छे, डोको बोक्दा–बोक्दा थाप्लोका रौं गइसके । केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु ?’

श्रीमती (खजुरा)ले दुई भैंसी, एक हल गोरु र केही बाख्रा पालेर सघाएकी छन् । चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो । जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन् । एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्ष पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन् । ‘छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा मैले तरकारी बेचेरै दिएको छु,’ उनले भने ।

‘गाउँले एफएम दाइ’

वि.सं. २०५८ तिर, डौंसुरमा खड्का सानो खुद्रा पसल थियो । पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा सामान किन्न आएका मानिसलाई समाचार सुनाउनु उनको दैनिकजस्तै थियो । त्यतिबेला माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । समाचारप्रति स्थानीयको चासो बढी थियो । रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगञ्जको वागीश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँलाई चर्को ‘भोल्युम’मा सुनाउने गरेको उनका छिमेकीहरु बताउँछन् ।

आज यो ठाउँमा यस्तो भीडन्त भयो, यति जनाको मृत्यु भयो, यति जना घाइते भए भनेर सबैलाई भन्थे । त्यहीबेला माओवादीकै ‘रिवल’ले उनको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिए । त्यतिबेलादेखि उनी ‘एफएम दाइ’ नामले परिचित छन् । लोकगीत र देउडामा रुचि उत्तिकै छ उनमा । ‘वि.सं. २०४३ मा रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, त्यहाँ अहिलेका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलसमेत ठाडीभाका गाउँथे । त्यही बेलादेखि मेरो रेडियोतर्फ र गीत–संगीततर्फ लगाव रह्यो,’ उनी भन्छन् ।

केही वर्षअघिसम्म दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा बोल्ने, गाउने गर्थे । गाउँले लबज र प्रष्ट आवाजमा गीत गाउने उनी स्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित छन् । अझै पनि उनको घरको बाहिर रेडियो झुन्डिएको हुन्छ । रेडियो सुन्दै बारीमा काम गर्छन् । कुनै बेला रेडियोप्रेमी खड्का हिजोआज टिकटकतिर मोडिएका छन् । कृषिबारे जानकारीमूलक भिडियोे बनाएर टिकटकमा सेयर गर्छन् ।

उम्मेदवारलाई सिमी र टमाटरको माला

बजारको माग बुझेर उत्पादन गर्दा आम्दानी आइहाल्छ । नत्र त्यत्तिकै तरकारी खेर जाने उनको भनाइ छ । विगत सम्झँदै खड्काले भने, ‘वि.सं. २०७९ वैशाखमा मंसिरमा आमचुनाव हुन्छ । चुनावको प्रचारमा आउने कार्यकर्ताले तरकारी किन्छन् भनेर बारीमा तरकारी लगाएँ । मंसिरमा मात्रै २० हजार बराबरको सिमी बिक्री भयो । निर्वाचनको अवधिमा छ क्विन्टल त बन्दा बेचेँ ।’ उम्मेदवारलाई आफूले उत्पादन गरेको सिमी र टमाटरको मालासमेत लगाइदिएको उनले जानकारी दिए ।

सिमी, काँक्रा, चिचिन्डोलगायत बीउ खड्का आफैं उत्पादन गर्छन् । ‘हाइब्रिड जातको बीउ भने पसलबाट खरिद गर्छु । वि.सं. २०८० फागुन–चैतमा मात्र रु २५ हजार बराबरको चिचिन्डोका बेर्ना बिक्री गरें’, उनले भने, ‘म तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु, यसपालि दुई सय बोट काउली र त्यही अनुपातमा बन्दा लगाएको छु, राम्रै फलेको छ ।’

ठूला दुईवटा टनेलमा छ क्विन्टलजति गोलभेंडा तयार छन् । एउटा बोटमा तीन–चार केजीसम्म गोलभेंडा फलेको खड्काले जानकारी दिए । उनले भने, ‘भर्खरै मात्र दुई हजार पाँच रुपैयाँमा टमाटर बेचेर आएँ । अग्र्यानिक टमाटर हो यो, ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।’ कृषिसम्बन्धी तालिम लिएका खड्का घरमै कीटनाशक औषधि बनाउँछन् । मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन । उनले भने, ‘अग्र्यानिक मल नै फालाफाल छ । बजारिया मल किन किन्नु, माटो बिगार्छ ।’

परम्परागत रूपमा खेती गर्दै आएका खड्काले अहिलेसम्म गैरसरकारी संघसंस्थाको सहयोग पाए पनि राज्यबाट कुनै अनुदान नपाएको बताए । तरकारीखेतीका लागि खड्कालाई सिँचाइको समस्या छ । एकपटक सेवक नामक संस्थाले उनलाई पाल दिएको थियो । पालको छानो राखी उनले बारीनजिकै पोखरी बताएका छन् । वरपर पानीको ठूलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ ।

कक्षा ३ सम्म अध्ययन गरेका नगेन्द्र गाउँका अन्य किसानलाई तरकारी कसरी लगाउने ज्ञान बाँड्छन् । खड्का चामुन्डाविन्द्रासैनी नगरपालिकाबाट पुरस्कृत पनि भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *