जनभावनाको कदर गर
पाथीभरा देवी थान अर्थात् मुुकुम्मलुङमा केवल कार निर्माण गर्ने प्रपञ्च अहिले मुलुककारलागि दुर्भाग्य साबित हुँदै गर्दा सरकारले वार्ताको पहल गरी हाल नियन्त्रणमा लिएको छ । एउटा निजी कम्पनीले निर्माण गर्न लागेको उक्त केवल कारको पक्ष र विपक्षमा दोहोरो भिडन्त समेत भयो । सरकारले एउटा ठुलो दुर्घटनाबाट मुलुकलाई बालाबाल बचाएको छ । पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको विवादले उत्पन्न गरेको द्धन्द्धलाई वार्ताद्वारा अस्थायी रूपमै सही विराम लागेको छ । सरकार र नो केबलकार पक्षबिच भएको छ बुँदे सहमतिले सकारात्मक सन्देश दिएको छ । तर त्यसलाई दुवै पक्षले इमानदारीपूर्वक पालना गर्नु भने जरुरी छ । माघ १५ गते ताप्लेजुङमा भएको भिडन्तले खोलो धमिल्याएर माछा मार्न पल्केकाहरूलाई खुँदो पल्टिएको थियो । तर त्यसलाई विराम लगाउने सरकारको कदम सहनीय छ । ताप्लेजुङमा रहेको उक्त स्थान अहिले नेपाल र भारतका थुप्रै श्रद्धालुपनको आस्थाको केन्द्र बनेको छ । त्यस देवी स्थानमा हिन्दु, बौद्ध र किरातहरूको अलग अलग आस्था राख्ने करोडौँको आस्था जोडिएको छ । त्यहाँ जनता अर्थात् श्रध्दालुहरुको हितमा केबलकार निर्माण गर्ने कुरा धेरै अघिदेखि हुँदै आएको थियो । यस्ता प्रसिद्ध धार्मिक स्थानमा केबलकार निर्माण गर्ने अहिले अभियान नै चलेको छ । मनकामना देवीको मन्दिरबाट सुरु भएको यो क्रम अहिले पाथीभरामा पुगेर गम्भीर द्वन्द्वको रूप लिएको छ । राजधानीकै चन्द्रागिरि, प्युठानको स्वर्गद्वारी, दोलखाको कालिन्चोकदेवी आदि स्थानमा अहिले केबलकार चालु छ । त्यसमा चरम व्यापारीकरण चाहिँ चन्द्रागिरिमा देखिएको छ । त्यहाँ जोनहरूको चरम आर्थिक शोषण भएका घटनाहरू बेलाबखत सञ्चार माध्यममा आउने गर्छन् र त्यहाँ पुग्नेहरूका गुनासाका कथाहरू पनि प्रशस्त सुनिन्छन् । त्यही कम्पनी अहिले ताप्लेजुङको पाथीभरा पुगेको छ । उसको व्यापारको साम्राज्य त्यसरी विस्तार हुँदा सरकार पनि उसको पक्षमा खडा छ । त्यो स्वाभाविक पनि हो कि मुलुकको आर्थिक क्षेत्रको प्रवर्द्धनमा लाग्ने निजी क्षेत्रको सुरक्षामा सरकार खडा हुनु पर्छ । तर त्यसले द्वन्द्वको रूप लिनु र स्थानीय जनतामाथि दमन चक्र चलाउनु किमार्थ हुँदैन । जनतालाई दमन गरेर, गोली चलाएर, टियर ग्याँस छोडेर, लाठी प्रहार र गिरफ्तार गरेर गरेको विकास दिगो हुँदैन । त्यस्तो विकासले जनताको जीवनस्तर उकास्न र देशलाई संम्मृद्धिको मार्गमा डोर्याउन सक्दैन । भौतिक विकासले प्रविधिले जनताको धार्मिक आस्थामा चोट पुर्याृृउने कुरा कुनै पनि रूपमा स्वीकार हुँदैन । तर अहिले पूर्वी नेपालको दूर दराजमा भएको घटनाले सिङ्गो मुलुकलाई हिंसामा तान्दै छ । त्यो दुर्भाग्यलाई सौभाग्यमा बदल्न सरकार बढी जिम्मेवार र सुझबुझपूर्ण कदम उठाउने गरी प्रस्तुत हुन आवश्यक छ । पाथीभराको मात्र होइन कुनै पनि स्थानमा हुने यस्ता घटनालाई सरकारले सही तवरले हल गर्न सक्नु पर्छ । त्यो सिर्फ केबलकारको मात्र विवाद होइन, जनताको धार्मिक आस्थासँग जोडिएकाले बढी संवेदनशील बनेको हो । त्यसले त्यहाँको प्राकृतिक स्वरूप, धार्मिक स्थलको रूप आदिमा मात्र होइन वरिपरिको वातावरण, स्थानीयको मनोविज्ञानसँग पनि सरोकार राख्छ । कुनै ठुलो निर्माण कार्य गर्दा स्थानीय रूपमा पुरा प्रचार गरेर मानिस भेला गराई वातावरणीय प्रभावको सम्बन्धमा विमर्श गर्ने चलन छ । सायद त्यहाँ पनि भयो होला तर त्यो भएर स्थानीयबाट उठेका प्रश्नको सही उत्तर दिएको भए यो अवस्था नआउनुपर्ने हो । जे सुकै भए पनि अहिले त्यो क्षेत्र दुई भागमा ढाडिएको छ । दुवै पक्ष भिडन्तमा उत्रिएको छ । सरकारले निर्माण पक्षमा लागेर दमनको बाटो रोजेको छ । नो कवलकार पक्ष पनि मर्ने मार्ने स्थितिमा आएको छ । त्यसले ताप्लेजुङको सरहद नाघेर पूर्वी नेपालको झापा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलामसम्म आन्दोलन को रूप लिएको छ । नो कवलकार पक्षले बन्द हडतालको आवहन समेत गरेको छ ।
काठमाण्डौमा पनि त्यसको विरोधमा सभा जुलुस हुन थालेका छन् । र, त्यसमा कुनै सरोकार नै नहुने राजेन्द्र महतोहरू अग्निमा चरु खन्याउँदै छन् । अवाञ्छित तत्त्वले यस्तै मसला खोजिरहेका हुन्छन् । केबलकार निर्माणकार्यले निजी क्षेत्रको आर्थिक स्थितिमा सुधार्दैन, त्यस क्षेत्रको भौतिक विकासलाई पनि अगाडि लैजान्छ । तर त्यही कुरा विवादको बिच, जबरजस्ती र स्थानीयको चाहनालाई कुल्चेर गरियो भने विनाशको कारण बन्छ । त्यसैले तत्काल निर्माण कार्य स्थगन गरी नो कवलकार पक्षसँग निर्माण पक्ष र सरकारले हालको अस्थायी विरामलाई स्थायी रूप दिन इमानदारी पूर्वक वार्ता संवाद गरी समस्या समाधान गरिनुपर्छ । यसमा खेलेर आफ्नो निहित स्वार्थ पुरा गर्नेहरूको नियत बुझेर यो गर्नै पर्छ । यदि यसमा पनि चालबाजी भयो भने त्यसले राम्रो नतिजा दिँदैन ।