चन्द्रागिरिको हसना भास्तिपुर सहकारीले गर्यो एक अर्ब ३१ करोड निक्षेप संकलन
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकालाई केन्द्र बनाएर स्थापना भएको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८।७९ मा एक अर्ब ३१ करोड ९७ लाख १४ हजार चार सय निक्षेप सङ्कलन गरेको छ । सोही अवधिमा संस्थाले एक अर्ब ४६ करोड २६ लाख ७५ हजार तीन सय दुई बराबर कर्जा लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति एक अर्ब ६७ करोड ६६ लाख १० हजार पाँच सय १३ छ । संस्थाले सोही आवमा ७९ लाख ११ हजार सात सय ९५ बराबरको नाफा कमाएको छ ।
संस्थाले आफ्नो १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बजारमा देखिएको चुनौती र अवसरलाई मध्यनजर गर्दै कर्जा लगानी गर्दा ऋण नीतिअनुरुप प्रभावकारी तथा बढी उत्पादनमुखी क्षेत्रमा नै केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ । भाका नाघेका ऋणको अनुगमन कार्यलाई प्राथमिकतामा राखी नियमति अनुगमन गर्नुपर्ने, संस्थाको जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव साधारणसभामा व्यक्त गरिएको छ । संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनले विषम अवस्थामा पनि संस्थाले गुणस्तरीयरूपमा काम गरेको बताए । उनले संस्थालाई आगामी दिनमा अझै प्रभावकारी बनाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।