२०२३ मा विश्वको एक तिहाइले भोग्नेछन् आर्थिक मन्दी
काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरुवात भएसँगै यस वर्ष हुनसक्ने विभिन्न कुराहरूको अड्कलबाजी सुरु भएको छ । यसैबीच यस वर्ष विश्वका एक तिहाइले आर्थिक मन्दीको सामना गर्नुपर्ने तथ्य सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टलिना जर्जिएवाले विश्व अर्थतन्त्रको अवस्था नाजुक रहेको भन्दै एक तिहाइले त्यसको मार खेप्नुपर्ने बताइन् ।
शक्तिशाली राष्ट्रहरू अमेरिका, चीन र युरोपियन मुलुकहरूको अर्थिक वृद्धिदर सुस्त गतिमा रहेको भन्दै यस वर्ष त्यसको असर आम जनतामा पर्ने उनको भनाइ छ । यसको प्रमुख कारण उनले रसिया-युक्रेन युद्ध रहेको उल्लेख गरेकी छन् । ‘युक्रेनमा जारी युद्ध र त्यसको असरबाट विश्वमै वृद्धि भइरहेको महँगीले विश्वको अर्थतन्त्रलाई नराम्रोसँग असर गरेको छ,’ सीबीएसको कार्यक्रममा उनले भनिन् ।
उनले केही राष्ट्रमा पूर्णरूपमा मन्दी हुने र केही विकसित राष्ट्रमा पनि लखौं, करौडौं जनता यसको मारमा पर्ने बताइन्। उनले चीनमा बढ्दो कोरोना महामारीका कारण पनि त्यसबाट निर्भर रहेका देशहरूमा असर पर्ने बताइन् । ‘आगामी केही महिना चीनका लागि पनि गाह्रो हुने देखिन्छ । कोरोना महामारीका कारण चीनको विकासमा नकारात्मक असर पर्ने देखिएको हो। जसका कारण चीनबाट निर्भर देशहरूलाई अझ बढी असर हुने देखिन्छ,’ उनले भनिन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषमा १९० देश आबद्ध छन् । यो संस्थाले वैश्विक अर्थव्यवस्थालाई स्थिर राख्नका लागि काम गर्दै आएको छ ।