नेचुरल साकोसको ईकाइगत रुपमा साधारणसभा सम्पन्न
काठमाण्डौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाको समग्र वित्तीय सुचकाङ्कहरुमा वृद्धि भएको छ । संस्थाकोे आर्थिक बर्ष २०८१।८२ को असार मसान्तसम्म समग्र वित्तीय सुचकाङ्कहरुमा वृद्धि भएको हो । संस्थाले एकाइ तीन अन्तर्गत आयोजना गरेको १७औं साधारण सभाको अवसरमा वित्तीय सुचाकाङकहरुमा वृद्धि भएको जनाएको हो । संस्थाले सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्बन्धी निर्देशनको पालना गर्दै क्षेत्रगत रुपमा साधारण सभा गरेको छ । संस्थाले एकाइ तीन अन्तर्गत मुख्य कार्यालय टुसाल र काँडाघारी सेवा केन्द्रका सदस्यहरुलाई लक्षित गरी साधारण सभा आयोजना गरेको थियामे । संस्थाकी अध्यक्ष शर्मिला सिल्पकारको अध्यक्षतामा भएको साधारण सभा सचिव विकल्प पाठकले समग्र वित्तीय अवस्थाका साथै संस्थाका गतिविधिका बारेमा जानकारी दिएका थिए । सचिव पाठकले प्रतिवेदन प्रस्तुत गर्दै गत आ.व.मा शेयर पुँजी १६ करोड ५२ लाख, बचतमा १३ प्रतितशले वृद्धि भई २ अर्ब ४ करोड २५ लाख र ऋण लगानीमा २.५२ प्रतिशतले वृद्धि भई १ अर्ब ९६ करोड १२ लाख पुगेको जनाए । त्यसैगरी संस्थाको जगेडा कोषमा ८.३८ प्रतिशतको दरले वृद्धि भई १२ करोड ८० लाख पुगेको उनले सभामा जानकारी दिए । संस्थाको कुल सम्पत्तिमा ९.०५ प्रतिशतले वृद्धि भई गत असार मसान्तसम्म २ अर्ब ९४ करोड १६ लाख पुगेको छ । संस्थाको स्थिर सम्पत्ति २१ करोड १० लाख रुपैयाँ रहेको छ । सहकारीहरुमा समस्या आउनुको मुख्य कारण तरलता व्यवस्थाको कमी भएको भन्दै सचिव पाठकले गत आ.व.मा २३.८९ प्रतिशत अर्थात ४८ करोड तरलता कायम गरिएको बताए । पल्र्स र सहकारी प्राधिकरणको मापदण्डले बढीमा १५ प्रतिशतसम्म तरलता कायम गरे पुग्ने भए पनि अहिलको विषम परिस्थितिलाई मध्यनजर गरी बढी तरलता लिएर बसेको उनले सभामा जानकारी दिए । संस्थाको सदस्य संख्यामा २।९ प्रतिशतले वृद्धि भई १४ हजार माथि पुगेका छन् । संस्थाले प्रविधिमैत्री सेवालाई अगाडि बढाएको र प्रविधिको प्रयोगमार्फत् हुने कारोबारमा नेचुरल एक नम्बर भएको उनको भनाई छ । संस्थाले सहकारी अभियानमा नै नयाँ नयाँ प्रविधिको प्रयोग गरी सदस्यहरुलाई आधुनिक सेवा प्रदान गर्दै आएको र गत वर्ष २ अर्ब २५ करोड ५५ लाख रुपैयाँको कारोबार मोबाइल बैङ्किङ मार्फत भएको छ । अन्य सदस्यहरुलाई पनि मोबाइल बैङ्किङ सेवा प्रयोग गर्न उनले आग्रह गरे । संस्थाले वित्तीय सेवासँगै सदस्यहरुलाई ‘सदस्य स्वास्थ्य सुरक्षा तथा राहत सुविधा’ सञ्चालनमा ल्याएको र गत बर्ष ५ सय १२ जनालाई १३ लाख ५७ हजार राहत सुविधा प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । सबैलाई नियमित बचतमा सहभागी हुन आग्रह गर्दै उनले मासिक एक हजारभन्दा बढी बचत गर्ने सदस्यहरुलाई राहत सुविधा प्रदान गर्दै आएको जानकारी दिए ।
संस्थाले सहकारी शिक्षा तथा तालिमलाई अगाडि बढाउँदै आएको र सहकारीको महत्व र आवश्यकलाई बुझाउने प्रयास गरेको उनको भनाई छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थाले ४ बर्षे रणनीतिक योजना निर्माण गरेको र संस्थालाई दिगो रुपमा कसरी अगाडि बढाउने भने नीति तथा कार्यक्रमले तय गरेको उनले जानकारी दिए । सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गरी संस्थागत दिगोपनमा अगाडि बढ्ने लक्ष्य संस्थाको छ । आगामी चार बर्षमा २५ हजार सदस्य, शेयर पुँजी ३१ करोड, जगेडा कोष १६ करोड ५० लाख, बचत संकलन ३ अर्ब ५६ करोड, ऋण लगानी ३ अर्ब ४० करोड गरी कुल सम्पत्ति ४ अर्ब ४० करोड पु¥याउने संस्थाको लक्ष्य छ । ४ बर्षमा ५ हजार सदस्यलाई ऋण लगानी गरी व्यवसायिक बनाउने लक्ष्य संस्थाले अघि सारेको छ । संस्थाले गत आर्थिक वर्षमा विभिन्न कर शीर्षकमा गरी १ करोड ८६ लाख योगदान गरेको छ । सभामा नियमित बचत, उत्कृष्ट बालबचत, उत्कृष्ट कारोबार, ज्येष्ठ नागरिक, उत्कृष्ट युवा तथा महिला उद्यमी र प्रविधिको उच्चतम प्रयोगकर्ता सदस्यहरुलाई सम्मान गरिएको थियो । सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट पूर्णबहादुर तामाङले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले यसअघि एकाई १ अन्तर्गत साँखु सेवा केन्द्र र एकाई २ अन्तर्गत नयाँ बजार र कालिमाटी सेवा केन्द्रका सदस्यहरुको बीचमा सभा सम्पन्न गरिसकेको छ । आगामी पौष ४ गते मुख्य कार्यालय टुसालमा संस्थाले निर्णय प्रमाणिकरण सभा गर्ने भएको छ ।
















