६ थुनुवा फरार प्रकरणमा इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए


काठमाण्डौं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो । त्यहाँ रातिको समय डिउटी बसेका तीनजना प्रहरी जवानलाई निलम्बन समेत गरिएको प्रहरी स्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक सई मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका २ नक्टाझिज बस्ने रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *