नक्कली शरणार्थी प्रकरणः सरकारी वकिलले सके बहस, आजै थुनछेक आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ । सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने, दिनेश भट्टराई, निर्मला मरासिनी, महेश खत्रीर लक्ष्मण घिमिरेले जवाफी बहस गरेका हुन् ।
बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको हो । उनीहरूले अभियुक्त तर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सकिएसँगै आजै थुनछेक आदेशको तयारी छ । न्यायाधीशले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा रिहा गर्ने आदेश गर्नेछन् ।
प्रहरीले नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राईलगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
यसअघि बहसको समय बाँडफाँटका हिसाबले बुधबारसम्मका लागि समय तोकिएको थियो । तर, प्रतिवादीको बहसमा धेरै वकिलहरूले नाम टिपाएकाले थप एक दिन बहस लम्बिएको हो । जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो । ठगीकाण्डमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।
उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो ।