सरकार आफैं तस्करीमा संलग्न रहेको एमाले अध्यक्ष ओलीको आरोप
काठमाडौं । एमाले अध्यक्ष केपी ओली वर्तमान सरकारविरुद्ध आक्रोशित देखिएका छन् । उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन् ।
तेजाब आक्रमणविरुद्धको जागरण दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको आरोप लगाएका हुन् । ‘सरकार तस्करीमा संलग्न हुन्छ । तस्करहरुलाई समर्थन गर्छ । सरकार कमिशनखोरीमा डुब्छ । जनताका समस्या हेर्दैन,’ उनले भने– ‘जनता पीडामा छन् । म सरकारलाई सुझाव दिन चाहन्छु, अनेक किसिमका स्टन्टबाजी होइन, भ्रष्टाचार नगर्नुस्, भ्रष्टाचार रोक्नुस्, कमिशनखोरी बन्द गर्नुस्, जनताका समस्या समाधान गर्ने, सुशासन दिने, विकासका बाटोतर्फ लाग्ने काम गर्नुस् ।’
ओलीले सरकार आफैँले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप पनि लगाए । उनले मानिसको नामै लिएर सार्वजनिक रुपमै ज्यान मार्ने धम्की दिँदासमेत सरकारले केही गर्न नसकेको आरोप लगाए । ‘आतंककारीहरुलाई सरकार आफैंले प्रोत्साहित गरिरहेको छ । बढाइरहेको छ । स–परिवार मार्छु भनेर धम्की दिन्छ । त्यस्तालाई नियन्त्रणमा लिँदैन । अस्ति खुकुरी हान्छु भन्ने मान्छेले चार दिन अगाडि नै खुकुरी हान्छु भनेर माइतीघरमा खुट्टा उचालेको थियो । मानिसको नाम लिएको थियो, सरकार कानमा तेल हालेर बसेको थियो,’ उनले भने ।
एमाले अध्यक्ष ओलीले तेजाब आक्रमणमा परेका पीडितहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताए ।
‘यस्तो कार्य कहीँ पनि कसैले पनि आक्रमणको सामना गर्न नपरोस्, कोही पनि यस्तो अपराध गर्न प्रोत्साहित नहोस् र कसैले गरे कडा सजाय दिने व्यवस्था गर्नुपर्छ । तेजाव आक्रमणका पीडितको कुरा सुनेर सरकार गम्भीर भएर लाग्नु पर्छ, यसको लागि उपचार सरकारले निःशुल्क गरोस्,’ उनले भने ।