सातै प्रदेशमा निर्वाचन सम्पन, आजै नतिजा सार्वजनिक गर्ने
काठमाडौँ । राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत आज (बिहीबार) दिउँसो ३ बजे सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।
राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन् ।
जसमध्ये कोसीमा कुल ३६७ मतदाता रहेकोमा ३६४ मतदाता मतदानमा सहभागी भए । यता मधेस प्रदेशमा एक जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । १०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७४ मतदाताले मतदान गरेका छन् ।
त्यस्तै वाग्मतीमा ३४७ मतदाता रहेकोमा काठमाडौँका मेयर बालेन शाहसहित ५ जना अनुपस्थित भएका थिए । उता गण्डकीमा २२९ जनाले मतदानमा सहभागि भए । त्यस्तै लुम्बिनीमा ३०५ जना मतदाता रहेकोमा दुई मत खसेको छैन् । साथै कर्णालीमा १९६ मतदाता रहेकोमा शत प्रतिशत मतदान भएको छ । यता सुदूरपश्चिममा २२६ मतदाताले मतदान गरेका छन् ।
मतदान सकिए लगत्तै आजै मतगणना थाल्ने र नतिजा पनि आजै सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।