देशको विकास र समृद्धिका लागि फेरि कांग्रेसको नेतृत्व आवश्यक ः उपसभापति खड्का

काठमाण्डौं । कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस अहिले मिसन–२०८४ नभई मिसन ०८१ मै रहेको बताएका छन् । उपसभापति खड्काले देशको समृद्धि र विकास कांग्रेसको मूल मिसन भएको बताए । उपसभापति खड्काले कांग्रेस मिसन–२०८४ तर्फ केन्द्रित नरहेको समेत प्रस्ट पारे । ‘कांग्रेस अहिले मिसन २०८१ मै छ । २०८२ र २०८३ मा देश विकासका लागि के गर्ने, पार्टीलाई आम जनतासम्म कसरी पुर्‍याउने भन्नेमा केन्द्रित छौँ । ‘यति गरेपछि २०८४ मा कांग्रेस एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछ । खड्काले मुलुकमा अहिले अप्ठ्यारो परिस्थिति सृजना हुन थालेको बताउँदै त्यो परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेको बताए । उनले देशको विकास र समृद्धिका लागि फेरि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए । उपसभापति खड्काले जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए । तीनै तहका जनप्रतिनिधिहरू आफ्नो पार्टी, चुनाव जिताउने कार्यकर्ता र मतदाताप्रति उत्तरदायी नहुँदा समस्या आएको समेत बताए ।

‘जनप्रतिनिधि पार्टीपंति र जनताप्रति उत्तरदायी हुन जरुरी छ । ‘निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबिच महिनामा एक पटक बैठक बस्ने, पार्टी र जनताको निर्देशन अनुसार प्रस्तुत हुने पार्टी विधानमै छ । उनले प्रतिकुल अवस्थामा कांग्रेसलाई बचाएर राखेका पार्टी कार्यकर्तालाई देखिने गरेर जिम्मेवारी तहमा रहेकाहरू सुध्रिन जरुरी रहेको बताए । जमिनमा बसेर कांग्रेसलाई बचाएर राख्ने पार्टीका सदस्यहरू जुनसुकै तहको नेतृत्वमा रहेकाहरू सुध्रिएको देख्न चाहेको खड्काले बताए । ‘नेतृत्वमा आएको रूपान्तरण देखिने गरी सुधारको अभियान कांग्रेसले खोजेको छ । खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्ताबेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावहरूलाई दस्तावेजीकरण गर्ने तयारी भइरहेको बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताए । ‘त्यसपछि अहिले देखिएको पार्टीको नीति, विधि, परराष्ट्र नीति, आर्थिक नीतिलगायत मुलुकको समसामयिक राजनीति विषयमा पार्टीको नीति स्पष्ट हुन्छ’ उपसभापति खड्काले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *