नबिल बैंक ४१औं वर्षमा प्रवेश

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो वाणिज्य बैंक नबिल बैंक सन् १९८४ जुलाई १२ तारिखमा स्थापना भएको बैंक आजदेखि ४० वर्ष पुरा गरी ४१औं वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रका लगानीकर्ताहरूको लगानीमा स्थापना भएको नबिल बैंकले चार दशक पुरा गर्दा अग्रणी बैंकका रूपमा स्थापित छ । यो अवधिमा विभिन्न उतारचढाव र आरोह–अवरोहहरु पार गरेको नबिलले व्यावसायिक र सेवाका आधारमा सफल वाणिज्य बैंकका रूपमा आफुलाई चिनाएको छ । नेपाल अरब बैंकको रूपमा स्थापना भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिएपछि उद्योगी विनोद चौधरीको परिवारले बहुमत सेयर आफ्नो मातहतमा लिएको थियो । हाल यस बैंकमा चौधरी ग्रुप नै मुख्य लगानीकर्ता हो । ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर पृथक चिनारी बनाएको नबिल बैंकको अध्यक्षको रुपमा उपेन्द्रप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा ज्ञानेन्द्र प्रसाद ढुंगानाले नेतृत्व गरिरहेका छन् । निरन्तर सर्वोत्कृष्ट बनाउन बैंकका कर्मचारीहरूको अहम भूमिका छ भने ग्राहकहरूको अटुट भरोसा छ । कर्मचारीहरूको योगदान र मेहनत तथा ग्राहकको विश्वासले नै नबिल बैंक अब्बल बन्न सफल भएको सीईओ ढुंगानाले बताउँछन् । उनका अनुसार स्थापनाकालदेखि नै पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि रहेकाले ग्राहकको मन जित्दै विश्वासिलो बैंकका रूपमा सञ्चालन भइरहेको छ । उनले यो बैंकिङ क्षेत्रको उतारचढावमा नबिलले अग्रणी भूमिका खेलेको छ । उनले आगामी दिनमा पनि लक्ष्य हासिल गर्नमा सबैको सहयोग आवश्यक रहेको बताए । यस्तै, अध्यक्ष पौडेलले नेपाली बैंकिङ क्षेत्रमा नबिलको ठूलो योगदान रहेको सुनाए । ‘नयाँ प्रविधिको प्रयोग, सेवा विस्तार र कम्पलायल्सन पालनामा नबिल अगाडि नै छ, दीगो विकासका लागि कस्तो भूमिका खेल्नुपर्छ भनेर बैंकले अग्रणी भूमिका खेलेको छ, हामीले दीगो विकासमा ठूलो उपलब्धि हासिल गरेका छौं । सरल र ग्राहकमैत्री सेवा दिन नबिल बैंकले प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ । बैंकका अनुसार डिजिटल बैंकिङ प्रयोगकर्ताहरू १५ लाख छन् । जसमध्ये १० लाख प्रयोगकर्ता सक्रिय कारोबार गरिरहेका छन् । बैंकको कुल कारोबारको ८० प्रतिशत कारोबार डिजिटलबाट हुने गरेको बैंकको दाबी छ । सन् १९८० को दशकमा नेपालमा निजी क्षेत्रका बैंकहरू भर्खर सञ्चालनमा आउँदै थिए । नयाँ–नयाँ अभ्यासको थालनी भइरहेका थिए । सन् १९८४ मा कम्प्युटर प्रयोग गर्ने नबिल बैंक पहिलो बन्यो । जतिबेला डिजिटल बैंकिङको कल्पना नै थिएन । कम्प्युटराइज बैंकिङ भनिन्थ्यो । कागजमा हुने सबै काम कम्प्युटरमा हुन थाल्यो । सुरूवाती चरणमा कम्प्युटरमा अकाउन्टिङको काम मात्रै हुन्थ्यो । बिस्तारै आन्तरिक कामहरू सबै कम्प्युटरबाट गर्न मिल्ने भए । बैंकले सन् १९९० मा क्रेडिट कार्ड सञ्चालनमा ल्यायो । सन् १९९४ मा नेपालमा पहिलोपटक एटिएम मेसिन सुरू गर्यो । सन् २००३ मा नबिल इन्टरनेट बैंकिङ, सन् २०१० मा भिसा डेबिड कार्ड, सन् २०१२ मा मोबाइल बैंकिङ, सन् २०१५ मा इन्टरनेशनल मास्टर कार्ड, सन् २०२२ मा एन बैंक सञ्चालनमा ल्याएको नबिल बैंकले सन् २०२४ मा आइपुग्दा बैंकले एआईको प्रयोगका लागि तयारी गरिरहेको छ । ‘डिजिटाइजेशनको सुरुवाती चरणमा भुक्तानी मात्रै हुन्थ्यो ।

त्यसपछिको डिजिटल यात्रामा बैंकका आन्तरिक काम सबै कम्प्युटरमा हुन थाल्यो । क्रमशः कर्जाको काम पनि बिना कागज कम्प्युटरबाटै डिजिटलमाध्यमबाट दिन थाल्यौं,’ नबिल बैंकका चिफ डिजिटल अफिसर प्रमेश्वर श्रेष्ठले भने, ‘भुक्तानीतर्फ इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लञ्च गर्यौं । इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ आएपछि ब्यालेन्स मात्रै हेर्न मिल्थ्यो । त्यसपछि, स्टेटमेन्ट, भुक्तानी, कारोबार गर्न मिल्नेगरी प्रणालीको विकास भयो । त्यसपछि नबिल बैंक मात्रै नभएर इको सिस्टम नै डिजिटल बन्दै गयो । उनका अनुसार डिजिटल सम्बन्धि सबै काम गर्न एउटै माध्यमबाट हुने गरी नबिल बैंकले ‘डिजि बैंक’ लञ्च गर्यो । डिजिटल कारोबारमा आफूलाई अझै आक्रामक बनाउने बैंकको हुटहुटी थियो । त्यसपछि नियो बैंकिङको अवधारणा अगाडि सारेर ‘एन बैंक’ एप विकास गरी सार्वजनिक गर्यो । उक्त एप चलाउने ग्राहकले बैंक जानु नपर्ने उनको भनाइ छ । ‘खाता खोल्नदेखि कर्जा लिनसम्म बैंकमा नजानु पर्ने गरी एन बैंकले सेवा दिइरहेका छौं । ग्राहकहरूले ३० सेकेण्डमा खाता खोल्न सक्नुहुन्छ । यहि एपको प्रयोग गरी भिडियो केवाईसी, एन रेमिट, फोन लोन, कार्ड रिक्वेस्ट गर्नेदेखि मुद्दती निक्षेप खाता खोल्न सकिन्छ,’ श्रेष्ठले भने, ‘राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा सबै काम हुन्छ । अब ग्राहकहरूले बैंकको लामो फर्म भर्नुपर्ने बाध्यताको अन्त्य हुने गरी प्रणालीको विकास गरिरहेका छौं । वयस्क उमेरमा प्रवेश गरेको यस बैंकका सेयरधनीहरू मख्ख छन् । चार दशकको अवधिमा बैंकले करोडका सेयरधनीहरूलाई अर्बपति बनाएको छ । बैंक स्थापना गर्दा लगानीकर्ताहरूले २ करोड ८१ लाख रुपैयाँ लगानी गरेका थिए ।

जुन लगानी अहिले ९ सय गुणा बढेर २७ अर्ब पुगेको छ । उक्त लगानी बैंकले बोनस सेयर मार्फत प्रदान गरेको रकमबाट वृद्धि भएको हो । चार दशकको अवधिमा बैंकले २२ अर्ब रुपैयाँ ३१ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको छ भने २० अर्ब ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको छ । बैंकले आफ्नो इतिहासमा सेयरधनीहरूलाई २१ वर्ष बोनस र नगद दुवै लाभांश वितरण गरेको छ भने नगद लाभांश भने ३३ वर्ष वितरण गरेको देखिन्छ । ‘समग्रमा नबिल बैंकले निरन्तर प्रतिफल दिइरहेको छ, विगत ३९ वर्षको इतिहास हेर्दा २ करोड ८१ लाखबाट सुरु गरेको लगानी ९ सय गुणा बढेको देखिन्छ, यसमा फेरी नगद लाभांश छुट्टै प्रदान गरिएको छ, बोनस सेयरबाट २ करोड ८१ लाख लगानी २७ अर्ब पुगेको हो,’ सीईओ ढुङ्गानाले भने । २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको सेयर मूल्य प्रतिकित्ता ५०७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बैंकहरूमा लगानी गर्नेहरूका लागि दोस्रो बजारमा नबिल बैंक हटकेक सेयर हो । जसको सेयर मूल्य उच्च नै हुने गदर्छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासमा सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । ९ महिनाको अवधिमा बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत चैतसम्म बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ५५ करोड रुपैयाँ गरेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य आम्दानी ७.६२ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.८५ गुणा र प्रतिसेयर नेटवर्थ २०८.३९ रुपैयाँ रहेको छ । जगेडा कोषमा २९ अर्ब ३२ करोड रुपैयाँ सञ्चित छ । बैंकको तथ्याङ्क अनुसार खराब कर्जा ४.०४ प्रतिशत छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *