काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि अघि बढायो
काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि अघि बढाएको छ ।
उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन आदेश दिएपछि काठमाडौं महानगरपालिकाले बुधबार बिहानैदेखि न्युरोडको सडक भत्काएर फुटपाथ विस्तारको काम थालेको हो । यस अघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको थियो । उच्च अदालत पाटनका न्यायाधीश नन्द र खरेलको संयुक्त इजलासले आइतबार फुटपाथ विस्तारका लागि महानगरको पक्षमा अन्तरिम आदेश दिएको हुन् ।
सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।