बालकुमारी साकोसको रजत वर्षको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना
भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी २५ औं स्थापना दिवस तथा रजत महोत्सव, वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले साताव्यापी कार्यक्रम संस्थामा आवद्ध सदस्यहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले प्रशिक्षण दिएका थिए । संस्थाका अध्यक्ष श्रेष्ठले साताव्यापी कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाइराखेको बताए ।
संस्थाले शाताव्यापी कार्यक्रमको पहिलो दिन वित्तीय साक्षरता मार्फत् सहकारी के हो र संस्थाप्रति सदस्यको भूमिका के हुन्छ भन्ने विषयमा प्रशिक्षण दिएको बताए । त्यसैगरी ऋण परिचालन र बचत गर्दाको महत्वको विषयमा पनि जानकारी दिइएको उनले जानकारी दिए । तालिममा २ सय बढी सदस्यको सहभागिता रहेको थियो । संस्थाले भक्तपुर जिल्लाव्यापी चित्रकला प्रतियोगिता समेत आयोजना गरेको छ । संस्थाले बालकुमारी मन्दिर क्षेत्र र बालबालिकालाई पायक पर्ने अन्य दुई ठाउँमा समेत गरी तीन क्षेत्रमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । संस्थाले साताव्यापी कार्यक्रमको तेस्रो दिन खुल्ला रक्तदान, चौथो दिन बृद्धाआश्रम तथा मानव विद्या गृहलाई भौतिक सामाग्री सहयोग, पाँचौ दिन सरसफाई कार्यक्रम, छैटौँ दिन प्रभातफेरी कार्यक्रम र सातौं दिन रजत महोत्सव समारोह समापनका साथै संस्थापक तथा पूर्व सञ्चालक र कर्मचारीलाई सम्मान कार्यक्रम गर्ने संस्थाले जनाएको छ ।