उत्कृष्ट करदाता विजय शाहद्धारा केआइओसिएचलाई ४ करोड सहयोग
काठमाडौं । तीन पटकसम्म उत्कृष्ट करदाता बनेर नेपाल सरकारबाट सम्मानित व्यवसायी विजयबहादुर शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बालशल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ । शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने तथा विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरूको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसियू र डे केयर सर्जरी शाखाको तलालाई रुस्लान पिएसआइसियू नामाकरण गरिने भएको छ । यही भाद्र १३ गते शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसिएचलाई प्रदान गरीसकेको छ । कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रूपमा प्रदान गरिने भएको छ ।
गैरनाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ) ले यस सहयोग प्रक्रियाको समन्वय गर्दै आए पनि यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘सबै सहयोग रकम विजय शाहको निजी सम्पत्तिबाट गरिएको हो । प्रस्तुत सहयोग तीन पटकसम्म नेपालकै शीर्ष करदाता हुनुभएका शाहको परोपकार र सामाजिक उत्तरदायित्व समर्पणको प्रतिबिम्ब बनेको छ ।