रास्वपाको प्रदर्शनलाई मध्यनजर गर्दै पोखरामा निषेधाज्ञा जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई मध्यनजर गर्दै पोखरामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लागेपछि रास्वपाका नेता कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन शुरु गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो ।