सबै जिल्लाबाट सय-सय जना नेता कार्यकर्ता पोखरा उतार्न रास्वपाको आन्तरिक निर्देशन

काठमाडौं । रास्वपाले सहकारी ठगीको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि दबाब दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

पार्टी केन्द्रीय सचिवालयले शनिबार साँझ निर्देशन पठाउँदै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन निर्देशन दिएको छ । रास्वपाले तहगत समितिहरूलाई पठाइएको सन्देशमा भनिएको छ, ‘जिल्लामा हुनुभएका साथीहरूले सम्बन्धित सिडिओलाई ज्ञापनपत्र बुझाउने भन्ने कुरा छलफल भइराखेको छ । त्यसका लागि जिल्लामा भएका साथीहरूलाई परिचालन गरेर तयारी अवस्थामा रहनु भन्नुपर्छ । तर यसको लागि पोखरा आउन छोडेर जिल्लामा बस्नु चाहिँ भएन ।’

ज्ञापनपत्र बुझाउन जाँदा जिल्लामा सम्भावना भएका सबैलाई खबर गर्ने, कुनै एक स्थानमा भेटघाट हुने, ज्ञापनपत्र बुझाउनको लागि सिडिओ वा सिडिओ नभए सहायक सिडिओको समय लिने, ज्ञापनपत्र बुझाउन जाँदैछौं भनेर मिडियाहरूलाई साथै लाने, ज्ञापन पत्र बुझाउन सबैजना तयार भइसकेपछि ज्ञापनपत्र पढेर सुनाउने र सिडिओलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने र त्यसपछाडि छोटो अनौपचारिक कुरा गरेर सिडिओसँग बिदा हुने भनी सचिवालयले आग्रह गरेको छ ।

यस्तै, रास्वपाले प्रत्येक जिल्लाबाट सय-सय जना नेता कार्यकर्ता पोखरा उतार्न आन्तरिक निर्देशन दिएको छ । पार्टी सचिवालयका नेताले शनिबार राति यस्तो सन्देश पठाएको हो । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सातै प्रदेशका महामन्त्रीहरूलाई त्यस्तो निर्देशन दिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *