हरिबोधनी एकादशीमा तोरण टाँगेर सिंगारिको पशुपतिनाथ (फोटो फिचर)
काठमाडौँ । आज हरिबोधनी एकादशी ।
हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगबान विष्णुको पूजाआजा गरी मनाउने गर्छन् । यस्तै आजको दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान् स्वरूप मानिने वर र पिपलको पनि पूजा गरिने प्रचलन छ । घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ ।
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्यप्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्कुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने गर्दछन् । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।
यस्तै, राजधानीको पशुपतिनाथ परिसरको बागमती नदीमा भक्तजनहरूले एकादशीकै दिन पारेर तोरण टाँगेका छन् । मरणोपरान्त वैकुण्ठ बास होस् र आफ्नो परिवारलाई राम्रो होस् भन्ने कामनाका साथ तोरण टाँग्ने प्रचलन रहेको छ ।
तोरणलाई स्वर्गको प्रतीकसमेत मानिने हुनाले पशुपति समीप भएर बग्ने बागमतीमा तोरण टाँग्नेको घुइँचो छ ।
तस्बिरमा हेर्नुहोस्
तस्बिरहरु: सत्याग्रह सम्वाददाता/निराजन थापा