एनपिएलमा कुन टोलीमा कस्ता खेलाडी
काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण शनिबारदेखि सुरू हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा २० दिन चल्ने प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। नेपालका राष्ट्रिय क्रिकेटरसँगै विदेशबाट आउने खेलाडीका कारण एनपिएलको चर्चा बढिरहेको छ। यस पटकको लिगमा १६ देशका कम्तीमा ३९ खेलाडी एनपिएल खेल्न नेपाल आउँदैछन्। भारतका शिखर धवनदेखि अस्ट्रेलियाका बेन कटिङले कीर्तिपुरस्थित त्रिवि मैदानमा आफ्नो खेल देखाउँदा एनपिएल जित्न सक्ने टोलीको लेखाजोखा सुरू भएको छ।
विराटनगर किंग्स
सन्दीप लामिछाने कप्तानी रहेको विराटनगरमा लोकेश बमबाहेक नेपालका प्रभावशाली ब्याटर छैनन्। तर न्युजिल्यान्डका अनभुवी ब्याटर मार्टिन गप्टिल तथा क्यानडाका अलराउन्डर निकोलास किर्टन र ओमानका अलराउन्डर अबिक इल्यासलाई भित्र्याएसँगै विराटनगरको ब्याटिङ लाइनअपलाई राहत मिलेको छ।
स्कटिस बलर क्रिस सोल र अफगानिस्तानका अलराउन्डर इस्मल आलम गरी विराटनगरमा पाँच जना विदेशी खेलाडी आबद्ध छन्। नेपालका अलराउन्ड बसिर अहमद र ब्याटर राजेश पुलामीले पनि टोलीको ब्याटिङमा साथ दिनेछन्। यस्तै युवा टोलीबाट उदाएका दिपक बोहरा र सुभाष भण्डारी पनि विराटनगरका ब्याकअप हुन्। युवा ब्याटर नरेन भट्ट भने यू(१९ एसिया कप खेल्न जाने भएकाले सुरूआती खेलमा उपलब्ध हुने छैनन्। तीव्र गतिका बलरद्वय प्रतिश जिसी र जितेन्द्र मुखिया तथा स्पिनमा सन्दीप लामिछाने र अनिल खरेल विराटनगरबाट खेल्नेछन्।
टिम विराटनगर
सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।
प्रशिक्षक – केभिन ओ’ब्राइन।
जनकपुर बोल्ट्स
नेपाली टोलीका ओपनिङ ब्याटरद्वय आसिफ शेख र अनिलकुमार साह रहेको जनकपुरमा न्युजिल्यान्डका अलराउन्डर जिमी निशम हुनु सुखद पक्ष हो।
पाकिस्तानका अनुभवी ब्याटर शोएब मक्सुद र अमेरिकामा बसेर क्रिकेट खेल्ने लाहिरू मिलन्था टोलीमा थपिँदा जनकपुरको ब्याटिङ युटिन बलियो भएको छ। तर यू १९ टोलीमा रहेका ब्याटर आकाश त्रिपाठी सुरूआती खेलमा उपलब्ध हुने छैनन्। यस्तै, तीव्र गतिका बलर हेमन्त धामीले पनि यू(१९ टोलीको कप्तानी गर्ने भएका कारण जनकपुरले सुरूआती खेलमा दुई युवा खेलाडीलाई मिस गर्ने पक्का छ। तीव्र गतिका बलर किशोर महतो र युवा खेलाडी रुपेश सिंहबाट जनकपुरले आशा गरेको छ। पाकिस्तानका मोहम्मद मोसिन र अमेरिकाका जोशुआ ट्रम्पबाट अलराउन्डर प्रदर्शन हुने अपेक्षा छ। नेपाली घरेलु लिगमा चलेका स्पिनर शेर मल्ल पनि जनकपुरको प्रमुख खेलाडी हुन्।
टिम जनकपुर
सिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका) ।
प्रशिक्षक – पुबुद दसानायके।
चितवन राइनोज
चितवनको मार्की खेलाडीमा युवा अलराउन्डर कुशल मल्ल छन्। अनुभवी शरद भेषवाकर टोलीमा हुँदा चितवनसँगै कुशललाई पनि राहत हुनेछ। चितवनमा कमलसिंह ऐरी, दिपेश श्रेष्ठ र रिजन ढकाल गरी तीन जना नेपाली तीव्र गतिका बलर छन्। इंग्ल्यान्डका अलराउन्डर रवी बोपारा चितवनमा आबद्ध भएका चर्चित विदेशी खेलाडीमध्येका एक हुन्। चितवनमा बोपरासँगै अर्का इंग्लिस अलराउन्डर ल्यूक मार्टिन पनि छन्। दक्षिण अफ्रिकाका तीव्र बलर मार्चन्ड डे लांग हुँदा चितवनलाई फाइदा त हुने नै छ टोलीमा रहेका नेपाली तीव्र गतिका बलरको राम्रो विकल्प हुनेछ। अफगानिस्तानका ओपनिङ युवा ब्याटर हसन इसाखिलबाट चितवनले धेरै आशा गर्न सक्छ। सन्तोष कार्की र गौतम केसीसँगै नामिबियाका जान निकोल लोफ्टी इटन चितवनको ब्याटिङका भर हुन्।
टिम चितवन
कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), मार्चन्ड डे लांग (दक्षिण अफ्रिका), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान )आइकोनिक)।
प्रशिक्षक उमेश पटवाल
काठमाडौं गोर्खाज
काठमाडौं गोर्खाजमा तीन जना इंग्लिस खेलाडी छन्। लेगस्पिनर नेथन सोउटर इंग्ल्यान्डको घरेलु प्रतियोगितासहित विश्वका चर्चित फ्रेञ्चाइज लिगमा चलेका बलर हुन्। विकेटकिपर ब्याटर स्टेफन इस्किनाजी र अलराउन्डर ड्यान डौथवेट भित्रिँदा काठमाडौं उत्साहित छ। यस्तै, नामिबियाका ब्याटर जेहार्ड इरासमस र नेदरल्यान्ड्सका ओपनिङ ब्याटर माइकल लेभिट पनि काठमाडौं विदेशी खेलाडी आबद्धताको हिसाबले सन्तुलित छ। तीव्र गतिका बलर करण केसी मार्की रहेको काठमाडौंमा रसिद खान तीव्र गतिको बलिङको राम्रो विकल्प हुन्। घरेलु क्रिकेटमा राम्रो छाप छाडेका स्पिनर शाहब आमलसँगै दीपेश कँडेलले एनपिएलमा आफ्नो क्षमता देखाउने छन्। भीम सार्की, शंकर राना, सुमित महर्जन र राजु रिजालले काठमाडौंको ब्याटिङ युनिटमा प्रतिस्पर्धा गर्नेछन्।
टिम काठमाडौं
करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)।
प्रशिक्षक बसन्त शाही।
पोखरा एभेन्जर्स
पोखराको मार्की खेलाडीमा ओपनिङ ब्याटर कुशल भुर्तेल छन्। उनीसँगै नारायण जोशी, दिलिप नाथ, किरण ठगुन्ना र सुनाम गौतम ब्याटिङ युनिटमा हुनेछन्। सुनाम अस्ट्रेलियामा बसेर त्यहाँको घरेलु क्रिकेट खेल्दै आएका छन्। स्पिनर सागर ढकाल र बिपिन खत्री पोखराको प्रमुख खेलाडी हुन्। नेपालबाट तीव्र गतिको बलरको रूपमा आकाश चन्द मात्र टोलीमा आबद्ध छन्। अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौसँगै नेदरल्यान्ड्सका बास डे लिडे, स्कटल्यान्डका माइकल लिस्क, इंग्ल्यान्डका माइकल किचलीमा पोखराको ब्याटिङ अर्डर निर्भर हुनेछ। बास डे लिडे आइसिसीको एसोसिएटतर्फ उत्कृष्ट घोषित भएका खेलाडी हुन्। तीव्र गतिका बलर आकाशलाई बास डे लिडेसँगै वेस्ट इन्डिजका अलराउन्डर रेमन राइफरले साथ दिनेछन् ।
टिम पोखरा
कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप आर्याल (आइकोनिक)।
प्रशिक्षक – राजीव कुमार
लुम्बिनी लायन्स
लुम्बिनी लायन्सको एउटा विशेषता नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी हुन्। टोलीमा सन्दीप जोरासँगै युवा ब्याटर आशुतोष धिरैया र विकेटकिपर ब्याटर अर्जुन साउद छन्। अलराउन्डर विवेक यादवले टोलीका लागि चाहिएको बेला बिस्फोटक ब्याटरको भूमिका खेल्नेछन्। घरेलु क्रिकेटमा चलेका स्पिनर सूर्य तामाङलाई युवा तिलकराज भण्डारीले साथ दिनेछन्। विदेशी खेलाडीको हकमा भारतलाई यू(१९ विश्वकप जिताउन कप्तानी गरेका ब्याटर उन्मुक्त चन्द आबद्ध छन्। अस्ट्रेलिया तीव्र गतिका बलर तथा तल्लो क्रममा प्रभावशाली ब्याटिङ गर्न सक्ने बेन कटिङ छन्। आइपिएलको उपाधि जितेका कटिङ एनपिएलमा आउन लागेका चर्चित विदेशी खेलाडी मध्येका एक हुन्। वेस्ट इन्डिजका बलर रेमन सिमन्ड्ससँगै इंग्ल्यान्डका बायाँ हाते ब्याटर टस मूर्सले लुम्बिनीको टोली सन्तुलित बनाएको छ। अझ क्यानडाका कीर्तिमानी अलराउन्डर शाद बिन जफर भित्रिएपछि लुम्बिनीलाई अर्को विकल्प पनि भएको छ।
टिम लुम्बिनी
रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।
प्रशिक्षक नन्दन फाडनिस
कर्णाली याक्स
भारतका ओपनिङ ब्याटर शिखर धवन भित्रिएसँगै कर्णाली याक्स अहिले चर्चामा छ। कम्तीमा चार खेलका लागि भित्रिएका धवनको कीर्तिपुरस्थित त्रिवि मैदानमा ब्याटिङ हेर्न क्रिकेटप्रेमी आतुर छन्। टोलीमा पाकिस्तानका अलराउन्डर हुसेन तलातसँगै वेस्ट इन्डिजका विकेटकिपर ब्याटर चाडविक वाल्टन छन्। यस्तै, हङकङका ब्याटर बाबर हायत कर्णालीबाट एनपिएल खेल्न आउँदैछन्। मार्की खेलाडी सोमपाल कामीलाई तीव्र गतिको बलिङमा नन्दन यादवले साथ दिनेछन्। ब्याटिङमा नेपालको युवा टोलीबाट खेलिसकेका देव खनाल, रित गौतम र अर्जुन घर्ती छन्। गुलसन झाको प्रभाव नेपाली टोलीमा जस्तै कर्णालीमा हुने अपेक्षा गरिएको छ। स्पिनरको रूपमा मौसम ढकालसँगै भुवन कार्की हुनेछन्। ओमानका ब्याटिङ अलराउन्डर जीशान मक्सुदले पनि उनीहरूलाई साथ दिनेछन्।
टिम कर्णाली
सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), हुनेस तलात (पाकिस्तान), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।
प्रशिक्षक – ज्ञानेन्द्र मल्ल
सुदूरपश्चिम रोयल्स
नेपाली राष्ट्रिय टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्समा स्थानीय खेलाडी हुनु सुखद पक्ष हो। दीपेन्द्रसँगै ब्याटिङमा विनोद भण्डारी, खडकबहादुर बोहरा र नरेश बुढायर सुदूरपश्चिमकै हुन्। यस्तै तीव्र गतिका बलर अभिनास बोहरा पनि सुदूरकै हुन्।
टोलीका दुई जना युवा खेलाडीले भने सुरूआती खेल गुमाउँदैछन्। ब्याटर अर्जुन कुमाल र बलर नरेन साउद नेपाली यू(१९ टोलीबाट एसिसी एसिया कप खेल्न युएई जाँदैछन्। ब्याटिङमा इशान पाण्डे र अमित श्रेष्ठ पनि सुदूरका राम्रो विकल्प हुन्। विदेशी खेलाडीमा स्कटल्यान्डका ब्रान्डन मक्मलेनको ब्याटिङबाट सुदूरले धेरै आशा गरेको छ। युएईका रोहान मुस्ताफा र इंग्ल्यान्डका सेफ अली जेबले अलराउन्डरको भूमिका निर्वाह गर्नेछन्। आइपिएल टोली चेन्नइ सुपरकिंग्सबाट खेलेको अनुभव बटुलेका न्युजिल्यान्डका तीव्र गतिका स्कट कुगेलेइनल सूदूरको प्रमुख बलरको रूपमा खेल्नेछन् ।
टिम सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।
प्रशिक्षक – जगत टमाटा