बीआरआईका विषयमा दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति

काठमाडौं । चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)का विषयमा सत्तासाझेदार दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति भएको छ । शनिबार बालुवाटारमा दुई दलका नेताबीचको छलफलपछि उक्त विषयलाई अन्तिम रूप दिइएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए । एमाले–कांग्रेसले नेपालमा बीआरआई सम्झौता र कार्यान्वयनका विषयमा सहमतिमा पुग्न एक कार्यदल गठन गरेका थिए ।

दुवै पार्टीका नेता सम्मिलित उक्त कार्यदलले बीआरआईबारे ‘ड्राफ्ट’ तयार गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यदलले तयार पारेको ड्राफ्टलाई ‘फाइनल’ रूप दिएका थापाले बताए । बीआरआईमा सहमति जुटाएको भन्दै ओली र देउवाले कार्यदललाई धन्यवाद व्यक्त गरेका उनले जानकारी दिए । दुई दलबीच भएको सहमतिको खाका भने तत्काल सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री ओलीले यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *