पूर्णिका बनिन् ‘फेस अफ क्लासिक डायमण्ड’ विजेता
काठमाडौं । ‘फेस अफ क्लासिक डायमन्ड’को पाँचौं सिजनको विजेता घोषणा गरिएको छ । फिनालेमा पूर्णिका सिंजापतिलाई विजेताको रुपमा चिनाइएको छ । स्मृति श्रेष्ठ उपविजेता र उरुषा भण्डारी सहविजेता बने । स्मृति श्रेष्ठले उत्कृष्ट वाकको उपाधि जितिन् । सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि जित्न सफल भइन् । विजेताले डेढ लाख रुपैयाँसहित एक वर्ष क्लासिक डायमण्डको व्यावसायिक दूत बन्ने मौका पाउनेछन् । फस्ट रनरअपले एक लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । क्लासिक डायमन्डको फेसन र ज्वेलरी शो माघ ४ र ५ मा काठमाडौंमा आयोजना हुनेछ । सोही कार्यक्रममा विजेतालाई सम्मान र पुरस्कार प्रदान गरिने भएको छ । विजेता सिंजापतिलाई यसअघि केही ठूलो ब्यानरका फिल्मले समेत प्रस्ताव गरेका थिए ।
अनमोल केसीको पछिल्लो फिल्म ‘जेरी अन टप’मा उनले पनि अभिनय गर्ने चर्चा थियो । कलाकार हेरफेर हुँदा उनी बाहिरिइन् । ‘फेस अफ क्लासिक डायमन्ड’को कुरा गर्दा देशभरबाट अडिसनमा छानिएका २६ मोडललाई एक महिना तालिम दिएर प्रतियोगितामा सहभागी गराइएको थियो । जसमध्ये उत्कृष्ट पाँचलाई फाइनलका लागि छनोट गरी विजेता घोषणा गरिएको हो । प्रतियोगिताको निर्णायक प्यानलमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ, मोडल सविता कार्की, भारतीय सुपरमोडल दीप्ति गुजराल र कोरियोग्राफर रेहान शाह थिए । क्लासिक डायमन्डका अध्यक्ष बाबुराजा महर्जनले नेपालको फेसन र मोडलिङ क्षेत्रमा नयाँ प्रतिभा भित्र्याउन र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन प्रतियोगिताले योगदान पुर्याउँदै आएको बताए ।