प्रसाईंको रिट खारेज, बैंकलाई कर्जा असुल गर्ने बाटो खुल्यो

काठमाण्डौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण असुल गर्ने प्रकृया रोक्न माग गर्दै दायर गरेको रिट खारेज भएको छ । मंगलबार उच्च अदालत विराटनगर, इलाम इजलासले प्रसाईंले दायर गरेको रिट खारेज गर्दै ऋण असुलीको प्रक्रिया अघि बढाउने बाटो खोलेको हो । मंगलबार न्यायाधीशहरु विपुल न्यौपाने र काजीबहादुर राईको संयुक्त इजलासले प्रसाईंको माग बमोजिम आदेश जारी गर्न अस्वीकार गर्दै रिट खारेज गरिदिएको हो । यससँगै कुमारी बैंकले राष्ट्र बैंकले निर्दिष्ट गरेको प्रक्रिया अनुसार ऋण असुली गर्न पाउने भएको छ । कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असूलीको प्रक्रियामा जाने ताकेता पत्र पठाएपछि प्रसाईं बैंकको उक्त पत्र कार्यान्वयन नगर्न,नगराउन माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् । प्रसाईंले २०८० असार ८ गते टीकाराम अधिकारीमार्फत कुमारी बैंकको विर्तामोड शाखालगायत बैंकविरुद्ध रिट दायर गरेका थिए । उक्त रिटमाथि असार १० गते न्यायाधीश गीताप्रसाद तिमल्सिनाको एकल इजलासले सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

असार २६ गते न्यायाधीशद्वय लोहित चन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै तत्काल ऋण असुलिको प्रक्रिया अघि नबढाउन निर्देश दिएको थियो । तत्कालीन एनसीसी बैंक हालको कुमारी बैंकको नेतृत्वमा प्रभु बैंक, ग्लोबल बैंक र गुडविल फाइनान्स प्रसाईंलाई पूर्वाञ्चल क्यान्सर अस्पताल निर्माण तथा सञ्चालनार्थ २ अर्ब ४८ करोड रुपैयाँ कर्जा दिन तयार भए । जसमध्ये १ अर्ब रुपैयाँ ऋण दिइसकेका छन् । त्यही रकम प्रसाईंले नतिरेका हुन् । राष्ट्र बैंकका अनुसार प्रसाईंले बी एण्डसी, पूर्वाञ्चल क्यान्सर अस्पताल र पाँच तारे ‘होटल एट्रियम’ लगायतमा गरी साढे ५ अर्ब रुपैयाँ ऋण लिएका छन् । प्रसाईंले अहिलेसम्म बैंकबाट लिएको ऋणको साँवा ब्याज तिरेका छैनन् । तर, बैंकबाट ब्याजको पुँजीकरण गरी साँवा ऋण बढाउँदै आएका छन् । उनले बैंक वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि बढाउन थालेसँगै बैंकहरुले ब्याज पुँजीकरण गर्न अस्वीकार गर्न थालेपछि प्रसाईं थप अफ्ठ्यारोमा परेका हुन् । प्रसाईंले नबिल, प्रभु, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुणविल फाइनान्स लगायतबाट प्रसाईंले ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *