पत्रकार महासंघको निर्वाचन अन्ततः सम्पन्न
लामो समयको विवाद, मिति तोक्ने र स्थगन गर्ने गर्दै अन्योलग्रस्त स्थितिबाट गुज्रिएको नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः सम्पन्न भएको छ । चुनाव नै हुँदैन कि भन्ने अवस्थामा चुनावै हुनु मात्रलाई पनि सकारात्मक रूपमा लिनुपर्छ । चुनावपछि महासंघको वैधता त कायम भएको छ । तर, अव यसको अस्थित्व माथि भने गंभिर रूपले प्रश्न उठेको छ । हुन त पत्रकार महासंघले आज पर्याप्त राजनीतिक सङ्गठनकै भूमिका निभाउँदै आएको छ । पत्रकारका समस्या, प्रेस स्वतन्त्रता, साना लगानीका सञ्चार माध्यम आदिको सम्बन्धमा यो महासंघ आजसम्म या त मौन रहने गरेको छ या भेदभावपूर्ण ढङ्गले प्रस्तुत हुने गरेको छ । त्यसरी हेर्दा पत्रकार महासंघ अहिलेसम्म पत्रकारकै सङ्गठन चाहिँ बन्न सकेको थिएन । कतिपय सन्दर्भमा यो राजनीतिक दलको भातृसंगठन त अरू कतिपय सन्दर्भमा एनजिओको रूपमा यसले विगतमा पनि काम गर्दै आएको इतिहास छ । यो निर्वाचन पछि त झन् यसले पत्रकारका समस्याको बारेमा बोल्ने, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खडा हुने आशा समेत समाप्त भएको छ । अहिलेको चुनावमा पार्टी र एनजिओकर्मीको हस्तक्षेपले अबको महासंघको भूमिकाको बारेमा सहजै अन्दाज गर्न सकिन्छ । काँग्रेस र एमाले मिलेर एक जना एनजिओकर्मीको नेतृत्वमा महासंघको केन्द्रीय नेतृत्व निर्वाचित गराउन सफल भएका छन् । केन्द्रीय समितिमा अन्य महत्त्वपूर्ण पदमा पनि एनजिओकर्मी र गैर पत्रकारको उपस्थिति छ । केन्द्र बाहेक अधिकांश प्रदेश र जिल्लामा पनि पार्टी कार्यकर्ताको बाहुल्य छ । पार्टीकै भातृ सङ्गठनको भूमिकामा रहेको यो महासंघले पत्रकारका समस्या समाधान गर्न, पत्रकार माथि आउने नियमित र आकस्मिक सङ्कट समाधान गर्न अग्रसरता लिने कुराको अपेक्षा समेत गर्न सकिँदैन । चुनावमा एनजिओहरूको चलखेल र राजनैतिक पार्टीहरूको वक्तव्यबाजी, आन्तरिक निर्देशनका घटनाले पत्रकार महासंघ एउटा आम पत्रकारको स्वतन्त्र सङ्गठन हो भन्ने ठाउँ समाप्त भएको छ । यसले नेपालको प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घनमा पत्रकार महासङ्घकै दुरुपयोग हुने सम्भावनालाई बढाई दिएको छ । केन्द्रीय समितिदेखि जिल्ला शाखाहरूसम्म खडा भएका दुई सशक्त प्यानलमा अहिले विजयी प्यानलले वर्तमान सरकार र काँग्रेस र एमालेको प्रत्यक्ष निर्देशनमा जित हासिल गरेको हो । हुन त अर्को प्यानल बिलकुलै स्वतन्त्र र आम पत्रकारको हितमा खडा भएको थियो भन्ने आधार छैन । तर, तुलनात्मक रूपमा यो प्यानल पत्रकारकै पक्षमा खडा थियो भन्न सकिन्छ । भोट पाउँदा पनि त्यसैगरि पाएको छ । पत्रकारको भोट रमेश विष्ट नेतृत्वको समूहले बढी पाएको छ भने कार्यकर्ताको चोट उपत्यकामा चुनाव जित्ने प्यानलले पाएको छ । काठमाण्डौमा विष्ट नेतृत्वको प्यानलले डबल भन्दा बढी मत ल्याएको छ । पार्टीको सर्कुलर मान्ने कार्यकर्ताको भोटको अगाडी अब पत्रकारहरूको केही नलाग्ने रहेछ भन्ने प्रस्ट देखिएको छ । यो महासंघ यसरी नै अघि बढ्यो भने यसको स्वतन्त्र र साझा चरित्र समाप्त भएर जाने छ र महासंघ एउटा पार्टीको भातृसंस्थामा परिणत हुनेछ । विगतमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको इतिहास र बर्तमानमा त्यसको अवस्था हेर्यो भने पनि यो तथ्यलाई इन्कार गर्नै सकिँदैन । अब क्रियाशील पत्रकारको हित र पत्रकार महासंघको स्वतन्त्र अस्तित्वको रक्षाको सवाल निकै पेचिलो बन्दै गएको छ । अब यो समस्या हल गर्न पार्टीको हितमा काम गर्न, पत्रकारिताको नाममा पत्रकारिता गर्ने तप्कालाई सही स्थान देखाउनु पर्ने हुन्छ । तर त्यसो गर्दा नेताको चाकडी गरेर जीविका धान्ने स्वनामधन्य पत्रकारको गुजारा नचल्ने हो कि भन्ने खतरा उत्पन्न हुन्छ । पार्टीहरू र तिनका अयोग्य नेताहरूले कुनै हालतमा त्यसो गर्न दिँदैनन् । आगामी दिनमा पत्रकारका नेताहरूले नै अब पत्रकारिताको धर्म पालना गर्ने, पत्रकारको हकहितको पक्षमा आवाज उठाउने र प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिनेहरूलाई महासंघको नेतृत्वमा पुर्याउने प्रयास गर्नुपर्छ ।