महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेशका विधार्थीहरूलाई छात्रवृत्ति प्रदान
काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेशका १० जिल्लाका सरकारी विद्यालयका विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो । कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरी काठमाडौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ ।
यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विधार्थीहरूको उच्च शिक्षा हासिल गर्न चाहनामा गतिशिलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।