बागमती कार्य योजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताएका छन् ।

मंगलबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यकाका नगर प्रमुख एवं उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनामाथी छलफल कार्यक्रममा बोल्दै अबका योजनाअनुसार प्रकृतिमैत्री रूपमा अघि बढाउनुपर्ने बताएका हुन् । ‘बागमती कार्य योजना टुटेको थियो । फेरि यसलाई निरन्तरता दिएका छौँ । बाग्मती कार्य योजना प्रकृतिमैत्री रूपमा अगाडी बढाउँछौँ, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ,’ उनले भने, ‘यहाँको वातावरण सुहाउनेगरि योजना अघि बढाउँछौँ । कार्य योजनामा छलफलमा आएका सुझावहरू समेटेर, सरोकारवालाहरूसँग छलफल गरेर अन्तिम रूप दिन्छौँ ।’ उनले छलफलमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखबाट महत्त्वपूर्ण सुझावहरू आएको पनि बताए ।

बागमती कार्य योजनाले बागमती नदी प्रणालीमा रहेका १७ वटा अरु नदिको समेत अध्ययन गरी प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र, उपशहरी क्षेत्र, शहरी क्षेत्र र तल्लो क्षेत्र गरी ५ भागमा वर्गीकरण गरेर अध्ययन गर्नेछ । २० वर्षे कार्य योजनाको लागत अनुमान २ खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्य योजनामाथि छलफल आयोजना गरेको हो । छलफलमा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कार्य योजना सकारात्मक रहेको भन्दै हरियाली जोगाउने गरी प्रकृतिमैत्री रूपमा योजना अघि बढाउनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *