सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने : अध्यक्ष प्रचण्ड
काठमाडौं । बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको जिकिर गरेका छन् । अहिले टुंग्याउन कठिन भएको राजनीतिले नै हो । राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन अवस्था नरहेको प्रचण्डको भनाइ थियो । ‘पीडितहरूले पटक पटक यो विषयलाई उठाइराख्नू, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नू ।
किनकी अन्तिममा चाहीँ त सडक नै हुने हो की जस्तो मलाई, प्रचण्डले भने, ‘अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो । त्यसले केही नि हुँदैन भन्ने मेरो भनाइ होइन । त्यसले पनि केही न केही वातावरण बनाउन मद्दत गरेको छ । तर कानुनी भन्दा पनि राजनीतिक विषयका कारण शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगिन बाँकी रहेको भन्दै उनले माओवादीलाई तह लगाउने अन्तिम अस्त्र यही बाँकी भएकाले नटुंग्याउन जोड दिइएको बताए । ‘एउटा प्रवृत्ति यो विजनेस किन टुंग्याउनु भन्ने छ । अर्को राजनीतिक प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम बाँकी रहेको यही छ, किन टुंग्याउनु र ? माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ, गरौँला भन्ने छ ।