काठमाडौंमा क्यान इन्फोटेक माघ २४ देखि, स्टल बुकिङ खुला
काठमाडौं । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औँ संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । क्यान इन्फोटेकको ३०औँ संस्करणको मिति घोषणासँगै टाइटल स्पोन्सर, इन एसोसिएसन विथ, प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर स्पोन्सरका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला भएको छ । सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ ।
प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताइन् । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने बताए । क्यान क्यान इन्फोटेकका लागि स्टल बुकिङ खुला गरेको जनाएको छ ।