राष्ट्रिय सहकारी नियमन प्राधिकरणको औपचारिक उद्घाटन
ललितपुर। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विधिवत् उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ललितपुरको हरिहरभवन पुल्चोकमा प्राधिकरण कार्यालयको औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । नियमकानुनमा रहेको अनेकौं अप्ठ्यारालाइ हटाउँदै सहकारी क्षेत्रमा रहेका बेथितिको अन्त्य गरी सही दिशामा लैजान सहकारी नियमन प्राधिकरणले चुस्त रूपमा काम गर्ने अपेक्षा गरिएको मन्त्री अधिकारीले बताए। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकाल र अन्य सहकारी निकायमा प्रतिनिधिले मन्तब्य राख्दै प्राधिकरणले उदेश्यअनुरूप स्वतःस्फूर्त र प्रभावकारी रुपमा काम गर्न सकोस् भन्ने शुभकामना दिए । उनीहरूले अभियानको तर्फबाट प्राधिकरणलाइ सहयोग रहने उल्लेख गरे । विद्यमान सरकारी संरचनाहरुले सहकारी संस्थाहरुको प्रभावकारी नियमन तथा अनुगमन गर्न नसकेको भन्दै सहकारी क्षेत्रका लागि शक्तिशाली नियामक आवश्यक रहेको औंल्याइँदै आएको थियो । सोही अवसरमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएका सोही मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले सपथ ग्रहणका साथ पदबहाली गरेका छन् । केहि दिन अघि मन्त्रीपरिषद् बैठकले सचिव पोखरेललाई नै कामकारबाही गर्ने गरी प्राधिकरणको पहिलो अध्यक्षको जिम्मेवारी तोकेको थियो । सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ मार्फत पुस १४ गते सहकारी ऐन २०७४ संशोधन गर्दै प्राधिकरण गठनको व्यवस्था गरेको थियो । संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियमनका लागि प्राधिकरणले कार्य गर्ने तोकिएको छ । यसअघि राष्ट्रिय सहकारी बोर्ड रहेको पुल्चोक हरिहरभवनस्थित कार्यालयलाई नै प्राधिकरणको कार्यालय बनाइएको छ ।