जापानमा कर्मचारीलाई निःशुल्क मदिरापान, ह्यांगओभर छुट्टी
अहिलेको प्रतिस्पर्धात्मक जमानामा मानिसहरुलाई राम्रो जागिर पाउन जति सकस छ, कम्पनी तथा कार्यालयहरुलाई दक्ष तथा प्रतिभावान जनशक्ति प्राप्त गर्न तथा टिकाइराख्न पनि उत्तिकै मुस्किल छ । श्रम बजारमा रहेका उत्कृष्ट मानव स्रोतलाई आफ्नोमा भित्र्याउनका लागि कम्पनीहरूले अनेक खालका तरिका, सुविधा तथा योजनाहरु अबलम्बन गरेका हुन्छन् । अहिलेको जमानामा केवल धेरै तलबले मात्रै पनि प्रतिभावान मानिसहरू आकर्षित गर्न गाह्रो हुन्छ भन्ने यथार्थलाई बुझेरै कम्पनीहरुले कार्यवातावरणजन्य, गैरमौद्रिक तथा अन्य सेवा सुविधा र अवसरहरु कर्मचारीलाई प्रदान गर्ने गरेका हुन्छन् । त्यस्तै सिको गर्दै जापानको एउटा प्रविधि कम्पनीले बजारका प्रतिभावान तथा दक्ष जनशक्तिलाई आफ्नो कम्पनीमा आकर्षित गरेर भित्र्याउनका लागि निस्शुल्क मदिरापान तथा रक्सीको ह्यांगओभर भएको बेला छुट्टी दिने अफर ल्याएको छ । सन् १९९० को आर्थिक संकटयता जापानी अर्थतन्त्र राम्रोसँग तंग्रिन सकेको छैन र श्रमिकको ज्यालादर समेत न्यून नै रहेको छ । कतिपय ठूला कम्पनीहरुले नयाँ प्रतिभावान जनशक्ति भित्र्याउनका लागि आधारभूत तलबमानमा वृद्धिको घोषणा गरेका भएपनि साना तथा मध्यम कम्पनीहरुसँग बजेटको सीमितताका कारण त्यस्तो विकल्प उपलब्ध हुँदैन । त्यस्तै ठूला कम्पनीसँग प्रतिस्पर्धामा उत्रिनका लागि उनीहरुले कर्मचारीलाई विभिन्न अनौठा गैरमौद्रिक तथा सुविधाजन्य अफरहरु प्रदान गरेर जनशक्ति आकर्षित गर्ने प्रयास गरिरहेका हुन्छन् । यस्तोमा ओसाकास्थित एउटा सानो प्रविधि कम्पनीले आफ्ना कर्मचारीलाई कार्यालय समयमै निस्शुल्क मदिरापानसँगै मदिराको ह्यांगओभर हटाएर टाउको हलुका पार्ने बिदाको सुविधा प्रदान गरेको छ । ओसाकाको Trust Ring Co. Ltd नामक कम्पनीका कर्मचारीका लागि लागि कार्यालय समयमै ड्रिंक्स गर्नु कुनै अनौठो कुरा होइन । कम्पनीका हाकिम आफैले रक्सीको प्याला लिएर कर्मचारीहरुसँग खुसीसाथ टोस्ट गर्दछन् । यस्तो तरिका कम्पनीमा प्रतिभावान युवा भित्राउने उनको काइदा हो । यदि त्यसरी रक्सी पिउँदा अलिक धेरै पिइएछ अनि ह्यांग भएछ भने भोलिपल्ट केही ढिलोगरी अफिस आउन पनि पाइन्छ र त्यस्तोमा कसैले प्रश्न गर्दैन । हालै उक्त कम्पनीकी एक कर्मचारीले स्थानीय टेलिभिजनसँगको अन्तरवार्तामा भनेकी छिन् स् ह्यांगओभर बिदा लिएको बेलामा म दिउसो १२ बजेपनि अफिस जान सक्दछु। तपाईं ह्यांगओभर हटाउन बिहान २।३ घण्टा बढि सुतेर टाउको हलुका र दिमाग सफा बनाएर अफिस आउन सक्नुहुन्छ । यस्तो हुँदा बढी कार्यदक्ष भएको महसुस हुन्छ । कम्पनीका सीईओका अनुसार कर्मचारीको तलब वृद्धि गर्ने क्षमता नभएका कारण यस्तो असाधारण सुविधाको अवधारणा लागु गरिएको हो । कर्मचारीलाई बढी तलब दिन ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्नु भनेको हार्ने खेल खेल्नु हो । त्यसैले उनले पैसाभन्दा पनि धेरै मूल्यमान सुविधा आफ्ना कर्मचारीलाई दिन थाले ।