बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा
काठमाण्डौं । बागमती प्रदेश सरकारले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै ८ सहकारीमाथि छानबिनको जिम्मा प्रहरीलाई सुम्पिएको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी महाशाखाले बचतकर्ताको रकम हिनामिना गरेका ती सहकारी सम्बन्धी फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको हो । सोही अनुरुप अब सीआईबीले मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ, झिंगु समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुर, मुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा, डिलाइट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुर, नवजीवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुर, फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ, सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुर र पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरका सम्बन्धमा अनुसन्धान गर्नेछ ।
बचतकर्ताको उजुरीका आधारमा समस्या देखिएका ती सहकारीलाई पटकपटक छलफलमा बोलाउँदा उपस्थित नहुने, महाशाखाको निर्देशन अटेर गर्ने, बचत फिर्ता नगर्ने, बचत फिर्ताको कार्ययोजना पेस नगर्ने लगायतका कारण अनुसन्धानका लागि सीआईबीमा पठाइएको महाशाखाका रजिष्ट्रार कुमार तामाङले जानकारी दिए । प्रदेश सहकारी ऐन २०७६ को दफा २० मा सहकारीको मूल्य–मान्यता, सिद्धान्त पालना गर्नुपर्ने व्यवस्था छ तर ती सहकारी संस्थाले कुनै पनि नियम पालना नगरेको देखिएपछि सम्बन्धित सहकारीको फाइल सीआईबीमा पठाइएको उनले बताए । तामाङका अनुसार काठमाडौँ, गोकर्णेश्वरमा रहेको मञ्जुश्री सहकारीविरुद्ध ७६ जना बचतकर्ताले उजुरी दिएका थिए । नारायणी घिमिरे अध्यक्ष रहेको उक्त सहकारीविरुद्ध ६ करोड ५५ लाख ७९ हजार ७५० रुपैयाँ रकम विगो दाबी छ । जनक थापा अध्यक्ष रहेको भक्तपुरको झिंगु समाज सहकारीका ५ जना बचतकर्ताले बचत फिर्ताको माग गर्दै उजुरी दिएको तामाङले जानकारी दिए । उनीहरूले ५६ लाख ५८ हजार ९७३ रुपैयाँ बचत फिर्ताको माग गर्दै महाशाखामा उजुरी दिएका थिए । बनेपाको मुकुल सहकारीका ३५ जना बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै उजुरी गरेको रजिष्ट्रार तामाङले बताए ।
सुमन सुब्बा अध्यक्ष रहेको सो सहकारीले १ करोड ४६ लाख ८ हजार ९९१ रुपैयाँ बचतफिर्ता गर्नुपर्ने माग गरिएको छ । उनका अनुसार ललितपुरको डिलाइट बहुउदेश्यीय सहकारीले ४६ जना बचतकर्ताको १ करोड ८३ लाख ४३ हजार रुपैयाँ बचत फिर्ता गर्न आलटाल गर्दै आएको थियो । ४६ बचतकर्ताको उजुरीका आधारमा सो सहकारीको फाइल अनुसन्धानका लागि सीआईबीमा पठाइएको तामाङले बताए । यस्तै, प्रकाशचन्द्र न्यौपाने अध्यक्ष रहेको काठमाडौँको फलफूल सहकारीले १ करोड ५० लाख रुपैयाँ बचत फिर्ता नगरेको भन्दै दुई बचतकर्ताको उजुरी परेको थियो । कृष्ण महर्जन अध्यक्ष रहेको ललितपुरको सिटी सहकारीविरुद्ध २ करोड २७ लाख ९६ हजार २२ रुपैयाँ बचतफिर्ताको माग गर्दै महाशाखामा उजुरी परेको थियो । ४८ जना बचतकर्ताको उजुरीको आधारमा सो सहकारी सम्बन्धी फाइल पनि अनुसन्धानका लागि सीआईबीमा पठाइएको छ । डम्बरध्वज सुब्बा अध्यक्ष रहेको भक्तपुरको नवजीवन बहुउद्देश्यीय सहकारी, भक्तपुरको सीबी लामा अध्यक्ष रहेको पशुपति सहकारीमाथि पनि बचतकर्ताको उजुरीका आधारमा अनुसन्धानका लागि सीआईबीमा फाइल पठाइएको छ ।