मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आजबाट सुरु
मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबार बाट सुरु भएको छ ।
धर्मग्रन्थ कुरआन अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो, आज बिहानै सेहरी लिएर रोजाको सुरुवात भएको छ । यो एक महिनासम्म निरन्तर हुन्छ । रमजान महिना अवधिभर राति पढिने विशेष नमाज ‘तराबीह’ पनि मस्जिदहरुमा शनिबारदेखि सुरु भएको छ । इस्लामिक क्यालेण्डरअनुसार शनिबार साबान महिनाको अन्तिम तीसौ दिनमा चन्द्रमा देखिएपछि हर्षोल्लासका साथ रमजानको सुरुवात गरेका छन ।
कुरआन अवतरण भएको खुसियालीमा इस्लाम धर्मावलम्बीहरुले एक महिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजान भनिन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्ने गर्छन जसलाई ‘रोजा’ पनि भनिन्छ । एक महिनाभरि बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन पानी समेत नखाइ ब्रत बस्ने गर्छन् । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु) गरी रोजा खोलिन्छ । रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।
रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रूपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ । तराबी भनेको कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो । हाफिजले यो महिनामा ३० खण्डमा रहेको कुरान तरावी पढ्ने नमाजीलाई नमाजमार्फत सुनाउनुपर्छ ।
झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।