देशका दूरदराजहरुमा नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकोप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिएर देशका कुनाकुनामा दक्ष, विज्ञ चिकित्सकहरूको सेवा पुर्याउनु आवश्यक रहेको उल्लेख गरे ।
उनले सबैलाई आफ्नो-आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन आह्वान समेत गरे । राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मअनुसार भएको बताए । उनले ठूलो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको पनि बताए ।