नगरपालिका संघले ६ नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा
काठमाडौं । नेपाल नगरपालिका संघले ६ नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको छ । संघले आफ्नो ३२ औं स्थापना दिवसका अवसर पारेर आर्थिक वर्ष २०८०।८१ मा विभिन्न आधारमा उत्कृष्ट भएका ६ नगरपालिकालाई सम्मान गर्यो । उत्कृष्ट ६ नगरपालिकालाई संघले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्मान गरेको हो । सिद्धार्थ नगरपालिका, मध्यपुर थिमी नगरपलिका, कलैया उपमहानगरपालिका, ठाकुरबाबा नगरपालिका, गैंडाकोट नगरपालिका र घोडाघोडी नगरपालिका उत्कृष्ट घोषित भएका हुन् । संघले नगरपालिकाहरूको विभिन्न सूचक हेरेर पुरस्कार प्रदान गर्ने गर्छ ।

सिद्धार्थनगर नगरपालिका
सिद्धार्थनगर नगरपालिकाले ‘सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन’ क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै नगरपालिका संघद्वारा पुरष्कृत भएको छ । नगरपालिकाले मुलुकभरका अन्य नगरपालिकाहरूलाई पछि पार्दै सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन शीर्षकमा ८५ प्रतिशत अङ्क प्राप्त गरेको संघले जनाएको छ । सहरी विकास योजना, भवन, रसडक, यातायात, गुरुयोजना, खानेपानी व्यवस्थापन, नगरपालिकाको भौतिक संरचना, युवा खेलकुद र पूर्वाधार, अन्तर नगरपालिका सहकार्य, विपद् व्यवस्थापन कोष, वातावारणमैत्री सार्वजनिक सौचालय निर्माणजस्ता कार्य, दिगो विकास लक्ष्यबमोजिमको कार्यक्रम, उत्थानको क्षेत्रमा गरेको कार्यको आधारमा नगरपालिका उत्कृष्ट बन्न सफल भएको हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित सिद्धार्थनगर नगरपालिकाको कुल क्षेत्रफल ३६.०३ वर्ग किमि रहेको छ । यस नगरपालिका समुद्री सतहबाट ११० मिटरको उचाइमा रहेको छ । १३ वटा वडामा विभाजित यो नगरपालिका विंस २०५८ सालको जनगणनाअनुसार ७४ हजार ४३६ जनसंख्या रहेको छ । ‘कृषि, स्वास्थ्य, पर्यटन, उद्योग व्यापार र शिक्षा, हराभरा बुद्धभूमि सिद्दार्थनगरको इच्छा’ भन्ने मूल नाराका साथ नगरपालिकाले दिर्घकालीन योजनाका साथ कार्य गर्दै आएको छ । यस नगरपालिकाका प्रमुख इश्तियाक अहमत खाँ हुन् । खाँ नेपाली काँग्रेसको तर्फबाट २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका हुन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दासमेत हुन् । सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वको रूपमा समेत खाँ परिचित छन् । नगरपालिकामा उपप्रमुख उमा अधिकारी र प्रमुख प्रशाशकीय अधिकृत जनक थापा छन् ।

मध्यपुर थिमि नगरपलिका
‘वातावरण, संस्कृति र पर्यटन’ क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा मध्यपुर ठिमी नगरपालिका उत्कृष्ट नगरपालिका घोषणा भएको छ । कला, संस्कृतिको जगेर्ना, वातावरणीय संरक्षण र उत्थानशीलतामा बहुआयामिक दृष्टिले परिवर्तनीय अभ्यास गर्दै आइरहेको नगरपालिको उक्त शीर्षकमा ८० प्रतिशत अंक ल्याएर उत्कृष्ट बन्न सफल भएको हो । मौलिक कला, संस्कृतिले सम्पन्न यो नगरपालिकाले संस्कृति सम्पदा संरक्षण गर्दै नगरभित्रका विभिन्न ऐतिहासिक मठमन्दिर, पाटी पौवा, सटल, देव घर, चैत्य, विहारलगायतका सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई निरन्तरण दिँदै आएको छ । भक्तपुर जिल्लामा अवस्थित यो नगरपालिका कुल ११.४७ वर्गकिलोमिटर क्षेत्रफल रहेको छ । यो नगर समुन्द्री सतहबाट १ हजार २२६ मिटरको उचाइमा अवस्थित छ । २०७८ सालको जनगणनाअनुसार एक लाख १९ हजार कुल जनसंख्या रहेको यो नगरपालिका ‘हाम्रो कला, हाम्रो संस्कृति ः मध्यपुर थिमि, हाम्रो सम्पति’ भन्ने नारा आत्मसाथ गर्दै परिवर्तनतर्फ उन्मूख छ । मध्यपुर थिमि नगरपलिकाको प्रमुख सुरेन्द्र श्रेष्ठ हुन् । त्यस्तै उपप्रमुखमा विजयकृष्ण श्रेष्ठ र प्रमुख प्रशाकीय अधिकृतमा रामबहादुर केसी छन् । नगरप्रमुख श्रेष्ठले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
कलैया उपमहानगरपालिका
‘सामाजिक विकास’ क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको आधाररमा कलैया उपमहानगरपालिका उत्कृष्ट नगरपालिका घोषणा भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षालगायतको सामाजिक क्षेत्रमा यो नगरपालिकाले उल्लेखनीय कार्य गर्दै आइरहेको छ । त्यस्तै महिला, बालबालिका, अपांगता भएका, जेष्ठ नागरिक, गरिब तथा विपन्न नागरिकलगायत सम्पूर्ण नगरबासीको अभिभावकीय भूमिका निभाउँदै सामाजिक विकासको पाटोमा उल्लेखनीय कार्यमा कलैयाले ८० प्रतिशत अंक प्राप्त गरी उत्कृष्ट नगरपालिका बन्न सफल भएको नगरपालिका संघले जनाएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा, खोप सेवा, गुणस्तरीय शिक्षाको पहुँच, शैक्षिक छात्रवृत्तिको व्यवस्था, छोरी बीमा कार्यक्रम, विपन्न नागरिकलाई आयआर्जनको पाटो, आवासको प्रबन्ध, बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, बालमैत्री स्थानीय शासन, पोषणमैत्री पालिकाजस्ता कुराको सुनिश्चिता र सामाजिक उत्तरदायित्वमा वैज्ञानिक व्यवस्थापनका लागि क्षमता विकास र परिचालनजस्ता सामाजिक विकासमा उल्लेखनीय काम यो उपमहानगरपालिकाले गर्दै आएको छ । मधेश प्रदेशको बारा जिल्लामा अवस्थित कलैया उपमहानगर पालिका काठमाडौंबाट ३०६ किलोमिटर विरगञ्जबाट पूर्व १२ किलोमिटरको दुरीमा अवस्थित छ । कलैया संस्कृतिक विविधतामा धनी नगरपालिका हो । २७ वडा र कुल १ लाख ३६ हजार जनसंख्या रहेको नगरपालिका ‘कृषि र पूर्वाधार, समृद्ध कलैयाको आधार’ भन्ने मूल नाराका साथ अघि बढिरहेको छ । यस उपमहानगरपालिकाको प्रमुखमा विनोदप्रसाद शाह, उपप्रमुखमा रौशन परविन र प्रमुख प्रशासकीय अधिकृतमा नाथु शाह छन् ।
ठाकुरबाबा नगरपालिका
लुम्बिनी जिल्लाको बर्दियामा अवस्थित ठाकुरबाबा नगरपालिका ‘समुन्नत ठाकुरबाबाः सबल नगरबासी भन्ने मूल नाराका साथ अघि बढिरहेको छ । कुल १०४.५२ वर्गकिलोमिटर क्षेत्रफल, ९ वटा वडा र ५७ हजार बढी जनसंख्या रहको यो नगरपालिकाले संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासन शीर्षकमा ८० प्रतिशत अंक प्राप्त गरी देशभरीका पालिकामध्ये उत्कृष्ट बन्न सफल भएको छ । संगठन व्यवस्थापन तथा सर्वेक्षण, विद्युतीय शासन, आन्तारिक आय वृद्धि, करदाता शिक्षा कार्यक्रम, पुँजीगत खर्च वृद्धि, बेरुजी न्यूनीकरण, आर्थिक अनुशान नीति, लैंगिक समानता र सामाजिक समावेशीकरणमा नगरपालिकाले उल्लेखीनीय कार्य गर्दै आएको छ । त्यस्तै चौमासिक रुपमा सार्वजनिक सुनुवाई, नागरिक सर्वेक्षण र सेवा प्रवाहको सन्तुष्टि मापन, न्यायिक समितिको उत्कृष्ट कार्यसम्पादन, नागरिकमैत्री सेवा प्रवाह, भ्रष्टचारविरुद्ध शून्य सहनशीलता, वित्त आयोग कार्यसम्पदान सूचाकमा प्रगति संस्थागत क्षमता स्वमूल्यांकनमाा उत्कृष्ट जस्ता विषयमा हासिल गरेको उपलब्धी हेर्दा सुशासनयुक्त समृद्ध नगरपालिका बन्ने बाटोमा बलियो ढंगले अघि बढिरहेको देखिन्छ । नगरपालिकाको प्रमुखमा तिलकराम लम्साल, उपप्रमुखमा विनाकुमारी भट्टराई र प्रमुख प्रशासकीय अधिकृतमा नारायणप्रसाद ढकाल छन् ।
गैंडाकोट नगरपालिका
आर्थिक समुन्ततिको क्षेत्रमा गरेको असल अभ्यास र प्राप्त परिणामको आधारमा ‘स्थानीय आर्थिक विकास र सुशासन’को क्षेत्रमा ७५ प्रतिशत अंक प्राप्त गरी गैंडाकोट नगरपालिका उत्कृष्ट नगरपालिका हुन सफल भएको छ । स्थानीय आर्थिक विकासको लागि लगानी प्रवद्र्धन र बजारीकरण, औद्योगिक ग्राम निर्माणको तयारी, गरिबी न्यूनीकरणको लागि तथ्यांक संकलन, योजना निर्माण र कार्यान्वयन, नागरिकको व्यवसाय, सीप विकास र प्रविधि हस्तान्तरण, उद्यम विकास र विस्तारमा यो नगरपालिकाले उल्लेखीनीय काम गर्दै आएको छ । साथै स्थानीय उत्पदान र वृद्धि, श्रम तथा रोजगारी सिर्जना, उद्योग वाणिज्य संघको समनन्वयमा रोजगारदातको सूचीकरण, उत्पदानशील सहकारी संस्थाको प्रवद्र्धन कृषि सहकारीमा नागरिकलाई आवद्ध गराउन उचित समन्वय, वित्तीय साक्षरता, सार्वजनिक निजी साझेदारीका अवधारणामा साझेदारी नीति र कार्यनीथि पारित गरी महत्वपूर्ण कार्य गर्दै आएको छ । कृषि र फलफूल उत्पादनमा प्रचुर सम्भावना बोकेको यस नगरपालिका दुग्धजन्य र कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनुका साथै अन्य जिल्लामा निर्यातसमेत गर्दै आएको छ । नवलपरासी जिल्लाको पूर्वी भागमा अवस्थित यो नगरपालिका १८ वटा वडामा विभाजित छ । नगरपालिका १५९.९३ वर्ग किमि क्षेत्रफल ओगटेको छ । कुल ७९ हजार ३४९ जनसंख्या रहेको यो नगरपालिका ‘हामी सबैको साझा अठोट शान्त सुन्दर गैंडाकोट’ भन्ने दीर्घकालीन सोंचका साथ समृद्धतर्फ उन्मुख छ । गैंडाकोट नगरपालिकाको प्रमुखमा मदनभक्त अधिकारी छन् । त्यस्तै, उपप्रमुखमा शान्ति कोइराला र प्रमुख प्रशासकीय अधिकृतमा झविन्द्र खनाल रहेका छन् । स्थानीय निर्वाचनमा अधिकारी नेपाली कांग्रेसबाट प्रमुखमा निर्वाचित भएका थिए ।
घोडाघोडी नगरपालिका
‘स्थानीय आर्थिक विकास’ क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको आधारमा कैलालीको घोडाघोडी नगरपालिका देशभरिका अन्य पालिकालाई उछिन्दै उत्कृष्ट बन्न सफल भएको छ । समुन्त र विकास र परिवर्तन सँगँंगै स्थानीय नगरिकको आर्थिक, नीतिगत व्यवहारिक अभ्यास र त्यसबाट प्राप्त गरेको उपलब्धिको आधारमा उक्त नगरपालिकाले ७५ प्रतिशत अंक प्राप्त गरी उत्कृष्ट नगरपालिका बन्न सफल भएको संघले जनाएको छ । स्थानीय स्तरमा लगानी, गरिबी न्यूनीकरण र आर्थिक समृद्धिका लागि तथ्यांक संकलन र अध्ययन गर्दै आएको यो नगरपालिकाले उत्पादनशील सहकारी, संस्था एव व्यवसाय प्रवर्द्धन, निजी साझेदारीको कुुशल अभ्यास, सीप विकास र प्रविधि हस्तान्तरण क्षेत्रमा काम गर्दै आएको छ । साथै नगरपालिकाले उद्योग विकास र विस्तारमार्फत श्रम तथा रोजगारी सिर्जना र आर्थिक विकासको लागि औद्योगिक ग्राम निमार्णको तयारीमा छ । यस नगरपालिका कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर भई निर्यातसमेत गर्दै आएको छ । यस नगरपालिकाले कुल १५९.९३ वर्ग किमि क्षेत्रफल ओगटेको छ । घोडाघोडी नगरपालिकाका प्रमुखमा खडकबहादुर रावत, उपप्रमुखमा गुलियाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृतमा शिवसिंह भण्डारी रहेका छन् ।