प्रजातन्त्र सेनानी एवम् बरिष्ठ पत्रकार बस्नेतको निधन
भक्तपुर । प्रजातन्त्र सेनानी, पुर्नजागरण पत्रिकाका संस्थापक सम्पादक, गणेशमान बाटिकाका अध्यक्ष माथवर सिंह बस्नेतको निधन भएको छ। बस्नेतलाई मस्तिष्कघात भएको थियो। उपचारका क्रममा उनको आज विहान अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारका क्रममा निधन भएको हो । पार्थिव शरीरलाई आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । २००४ साल माघ २६ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा जन्मिएका बस्नेत नेपाली कांग्रेसका एक निष्ठावान कार्यकर्ता थिए । २०२५ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका उनले प्रजातन्त्र पुनःस्थापनाका आन्दोलनमा खेलेको भूमिकाका कारण २०२८ सालमा ९ महिना नजरबन्दमा परे । त्यसपछि २०२९ सालको विद्यार्थी आन्दोलनमा पक्राउ परी तीन महिना हिरासतमा रहेका थिए । २०३० सालमा सशस्त्र आन्दोलनकै क्रममा पक्राउ परी जन्मकैदको सजाय भोग्नुपरेका बस्नेत २०३७ सालमा जेलमुक्त भएपछि बहुदलीय व्यवस्था पुनःस्थापनाका लागि अभियानमा जुटेका थिए । २०३८ सालदेखि उनले पुनर्जागरण मासिक पत्रिकाको सम्पादन तथा प्रकाशनमार्फत प्रजातन्त्रप्रति आफ्नो अडान कायमै राखेका थिए । २०४२ सालको सत्याग्रहमा चार महिना जेल बस्नुपरेका बस्नेतले लौहपुरुष गणेशमान सिंहको जीवनमा आधारित मेरो कथाका पानाहरू शीर्षकको ६०० अंशमा धारावाहिक रूपमा प्रकाशन गरेर पत्रकारिता क्षेत्रमै महत्वपूर्ण योगदान गरेका छन् । नेपाली कांग्रेस भक्तपुरको संगठन निर्माणमा पनि अतुलनीय योगदान गरेका थिए । स्व. बस्नेतले नेपाली पत्रकारिता, प्रजातन्त्र स्थापनाका लागि उल्लेखनीय योगदान पुर्याएका छन् । उनको निधनले देशले एक कर्मठ व्यक्तित्व गुमाएको छ। सत्याग्रह मिडिया परिवार उनको वैकुण्ठ बासको कामना गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछ । साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ। स्व. बस्नेतको श्रीमती एक छोरा एक छोरी छन् ।