रुपन्देहीको विकास माथि पुगिसकेछ : सांसद चौधरी
काठमाण्डौं । रुपन्देही घर जग्गा व्यवसायी संघको तेस्रो अधिवेशनका अवसरमा बोल्दै नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले रुपन्देही देशकै आर्थिक हब बन्दै गएको बताएका छन् । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रशंसा गर्दै उनले विकासको हिसाबमा रुपन्देही धेरै माथि पुगिसकेको बताए । ‘रुपन्देही विकासमा धेरै माथि पुगेको रहेछ, यसमा म अनभिज्ञ जस्तै रहेछु,’ चौधरीले भने, ‘कुनै बेला बिरगन्ज र विराटनगर अगाडि थिए तर अहिले रुपन्देहीले जितिसकेछ । चौधरीले आफूले पनि अबको लगानी रुपन्देहीमा केन्द्रित गर्ने योजना बनाएको जानकारी दिए । ‘रुपन्देही देशको आर्थिक हब बन्दै छ, त्यसको विकासमा अहिलेका अर्थमन्त्री विष्णु पौडेलको प्रमुख भूमिका छ । सांसद चौधरीले बुद्ध जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थल, ६ लेन सडक र देशकै प्रमुख औद्योगिक जिल्ला भएको उल्लेख गर्दै यहाँ सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । त्यस्तै, अर्का सांसद वासुदेव घिमिरेले हाल सरकारले लिँदै आएको पुंजिगत लाभ कर र रजिस्ट्रेसन कर धेरै महंगो भएकाले घटाउनुपर्ने माग गरे ।
सांसद घिमिरेले घर जग्गाको सरकारी मूल्याङ्कन दर अति न्यून भएको तर कारोबार महंगोमा हुने भएकाले राज्यको राजस्व गुमेको तर्क गर्दै मूल्याङ्कन रकम वैज्ञानिक हुने गरी वृद्धि गर्न माग गरे । ‘शिथिल अर्थतन्त्र चलायमान बनाउंदै उकास्न पुंजिगत लाभ कर र रजिस्ट्रेशन कर घटाउनुपर्छ, जग्गाको मूल्याङकन रकम बढाउनुपर्छ’, घिमिरेले भने, ‘यसले घर जग्गाको कारबोर बृद्धि हुन्छ र राज्यको राजस्व आम्दानी पनि बढ्छ ।’ यस विषयमा आफूले अर्थमन्त्री घिमिरेसँग कुरा गरेको उल्लेख गर्दै आगामी वजेटमा यो माग सम्बोधन हुने बताए । उनले सरकारले नीतिगत सुधार गर्ने हो भने बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका क्षेत्र समेटेर लुम्बिनी मेगासिटी बन्नसक्ने बताए । कार्यक्रममा घरजग्गा व्यवसायी दीपक मल्होत्राले भूमिसम्बन्धी अध्यादेश रोकिनु घरजग्गा व्यवसायीका लागि दुर्भाग्य बनेको बताए । संघका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद घिमिरे, रुपन्देही अध्यक्ष दशरथ पौडेल, चेम्बर अफ कमर्स लुम्बिनी अध्यक्ष टंकप्रसाद पोखरेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर मात्रै अर्थतन्त्र सुधार हुने सुझाव दिए ।