पीएम कप- गण्डकीमाथि एपीएफ ३१ रनले विजयी
काठमाडौँ । जारी पीएम कप अन्तर्गत एपीएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
आइतबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको हो । एपीएफले दिएको २५९ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ५० ओभरमा ८ विकेट गुमाउदै २२७ रन बनाएपछि एपीएफ ३१ रनले विजयी भएको थियो ।
यसअघि टस हरेर पहिला ब्याटिंग गरेको एपीएफले ४९.२ ओभरमा अल आउट हुदै २५८ रन बनाएको थियो । योसँगै एपीएफले प्रतियोगितामा पाँचौं जित हासिल गरेको छ । ७ खेलमा १० अंकसहित एपीएफ तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै गण्डकीले भने आफ्नो सातौ हार बेहोरेको छ । गण्डकीको ८ खेलमा २ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।