लामीचौरमा ४२ वर्षपछि खानेपानीको सुविधा
ढोरपाटन। बागलुङ नगरपालिका–८ सिगाना लामीचौरका करिब दुई सय घरपरिवारले ४२ वर्षपछि खानेपानीको सुविधा पाएका छन्।
लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीयले जमिनमुनिबाट पानी निस्किएपछि राहत महसुस गरेका छन् ।लामीचौरमा वि.सं २०३९ मा निर्माण भएका तीनवटा जीर्ण धाराबाट पानी उपभोग गर्दै आएका थिए। एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने बाध्यता थियो। नगरपालिकाले जमिनमुनिबाट पानी निकाल्ने प्रयास गरेपछि स्थानीयको समस्या समाधान भएको हो। नगरपालिकाले प्राविधिक खटाएर सर्वेक्षण गरेपछि ड्रिलिङ मेसिन प्रयोग गरी पानी निकाल्ने काम गरिएको थियो। चैत १ गते मेसिनले करिब एक सय ७० मिटर जमिन खोदेर पानी निकालेको थियो। चैत ९ गतेदेखि नियमित रूपमा पानी निकाल्न थालिएको लामीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए।
“गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ,” अध्यक्ष थापाले भने। नगरपालिकाको २६ लाख रुपैयाँ र स्थानीय जनसहभागिताबाट जुटेको तीन लाख रुपैयाँको लागतमा पानी निकालिएको हो। “सिङ्गो गाउँमा पानीको समस्या थियो, दुई सय घरका लागि तीनवटा मात्र धारा थिए, धारामा थोरै पानी आउँथ्यो, स्थानीयले कुवा र खोलाको फोहोर पानी उपभोग गर्दै आएका थिए,” उनले विगतको समस्या सुनाए।
स्थानीय बिना परियारले एक गाग्री पानी भर्नका लागि आठ घण्टासम्म लाइन बस्नुपरेको सुनाइन्। खानेपानी अभावले धेरैले गाउँ छोड्न बाध्य भएको उनले बताइन्। स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताए। जनसङ्ख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको उनको भनाइ छ।